काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ः०० बजेदेखि खुला रहने र यस वर्ष कुनै पनि प्रकारको विशेष पास वा विशेष दर्शनको व्यवस्था नगरिने जनाएको छ । तीज पर्वलाई व्यवस्थित, सहज र सुरक्षित बनाउन सुरक्षा, दर्शन, स्वास्थ्य तथा स्वयंसेवा व्यवस्थाको विशेष तयारी गरिएको छ ।
पर्वका दिन मन्दिरका उत्तर, पूर्व, दक्षिण र पश्चिम गरी चारै ढोका बिहान ३ बजेदेखि खोलिनेछन् । उत्तर, पूर्व र दक्षिण ढोकामा पारदर्शी जालीमार्फत दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पुरुष दर्शनार्थीका लागि बिहान ५ः३० बजेभित्र दर्शन सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ भने कोर क्षेत्रमा पुरुष प्रवेश यसअघि झैँ निषेध गरिएको कोषले जनाएको छ ।
दर्शन व्यवस्थालाई सहज बनाउन मन्दिर बाहिर पाँच वटा मूल लाइन र परिसरभित्र आठ वटा लाइन सञ्चालन गरिनेछ। एकपटकमा आठ जनाले दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको कोषले जनाएको छ । मित्रपार्क–उमाकुण्ड, गौशाला–जयबागेश्वरी, सिनामंगल–एयरपोर्ट र पिङ्गलास्थान मार्गबाट भक्तजनलाई दर्शनका लागि प्रवेश गराइने व्यवस्था मिलाइएको छ ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको संयुक्त कमाण्ड पोस्ट सञ्चालन हुनेछ । पशुपति क्षेत्रलाई मांस, मदिरा तथा अन्य लागूपदार्थ निषेधित क्षेत्र कायम राखिएकाले बिक्रीवितरण र सेवनमा कडा निगरानी गरिने छ ।
पाकेटमारी तथा अन्य अवाञ्छित गतिविधि रोक्न सादा पोसाकका प्रहरी परिचालन गरिनुका साथै थप सीसीटीभी क्यामेरा जडान गरिएको कोषले जनाएको छ । मूल मन्दिर परिसरभित्र मोबाइल वा क्यामेराबाट फोटो तथा भिडियो खिच्न पूर्ण प्रतिबन्ध लगाइएको छ । उल्लङ्घन गरेमा जरिवाना र उपकरण जफत गरिने चेतावनी कोषले दिएको छ ।
दक्षिणामूर्ति, भुवनेश्वरी नासलचोक, पञ्चदेवाल तथा राम मन्दिर क्षेत्र आसपास जुत्ताचप्पल राख्ने कक्ष सञ्चालन गरिनेछन् । विशिष्ट व्यक्ति तथा सुरक्षा निकायका लागि कोष कार्यालय परिसर, भण्डारखाल, सिफल चौर, बनकाली र तिलगंगा क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ भने उमाकुण्ड पार्किङ बन्द रहने छ ।
कुलानन्द झा सत्तलको डबलीमा मुख्य स्वास्थ्य शिविर र एम्बुलेन्स तयारी अवस्थामा राखिने कोषले जनाएको छ । बहुमूल्य गहना नलगाई आउन, साना बालबालिकालाई सकेसम्म साथमा नल्याउन र ल्याउनै परेमा अभिभावकको सम्पर्क नम्बर भएको परिचयपत्र साथमा राख्न कोषले अनुरोध गरेको छ ।












प्रतिक्रिया