राजनीति-समाज

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालन, पुनर्निर्माण र पुनर्स्थापनालगायत कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा मुलुकको क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिए । साथै, उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको हानीनोक्सानीको क्षतिपूर्ति पाउनेगरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्नेमा जोड दिए ।

Advertisement

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवम् बाढीपीडितको बसोबासका लागि ‘होल्डिङ सेन्टर’ व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरेका हुन् । उनले बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज र सरल बनाउन तत्कालका कामलाई प्राथमिकता दिन आग्रह गरे । मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।

भेटमा सरकारका तर्फबाट मन्त्रीहरूले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढीप्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सकिनेगरी दिनरात काम भैरहेको जानकारी दिएका थिए ।

यसैगरी उनीहरूले वैकल्पिक सडक निर्माणलाई गति दिइएको र लामा बेलीबब्रिजहरूको लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकिएको तथा आवश्यक सामग्रीहरू आउनेक्रममा रहेको जानकारी राष्ट्रपतिलाई गराएको थियो ।