काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन राज्यको दमन र नियोजितरूपमा परिचालित संदिग्ध तत्त्वहरूका कारण हिंसात्मक बनेको दाबी गरेका छन् ।
बुधबार वक्तव्य जारी गर्दै प्रारम्भमा युवापुस्ताको अभिव्यक्ति स्वतन्त्रता र सुशासनप्रतिको चिन्ताबाट उत्प्रेरित भए पनि २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका पुरातात्विक तथा सरकारी धरोहरमाथि भएको लुटपाट र आगजनीलाई उनले देशको लोकतान्त्रिक इतिहासकै एक ुकालो दिनुको संज्ञा दिएका छन् ।
युवाको जायज असन्तुष्टि र आपराधिक तोडफोड दुई भिन्न विषय भएको उल्लेख गरे । ‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंशमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन । दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन’, प्रचण्डले भने ।
प्रचण्डले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिनको माग गरेका छन् । साथै, राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको अध्ययन प्रतिवेदन दराजमा नथन्क्याई तत्काल कार्यान्वयन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
‘नयाँ सरकार गठन भए तापनि नागरिकका अपेक्षा पूरा नभएको उनको भनाइ छ । महँगी, बेरोजगारी, शिथिल अर्थतन्त्र एवं युवा पलायन जस्ता समस्या कायमै छ’, वक्तव्यमा उल्लेख छ ।
वर्तमान सरकारले संविधान संशोधनका नाममा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र नागरिक स्वतन्त्रता जस्ता मुख्य उपलब्धिहरूलाई कमजोर पार्न खोजेको उनको आरोप छ । त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने चेतावनी दिए ।












प्रतिक्रिया