नेपाल

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । सरकारले रसुवा–भोटेकोशी बाढीसहित विभिन्न समयमा आउने विपद्का कारण प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यक्रम घोषणा गरेको छ ।

शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार बाढी तथा विपद्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने कार्यक्रमको घोषणा गरेका हुन् ।

Advertisement

यो योजनाअन्तर्गत सरकारले बाढी प्रभावित विद्यार्थीलाई आवसीयसहित पूर्ण वा आंशिक छात्रवृत्तिको व्यवस्था गर्नेछ । दुवै अभिभावक गुमाएकालाई पहिलो प्राथमिकता दिने, एक जना अभिभावक गुमाएकालाई दोस्रो र परिवारको आर्थिक स्थितिलाई पनि विचार गरिने सरकारले बताएको छ । सबै अवस्था विचार गरेर सम्बन्धित शैक्षिक संस्थाको वा अन्य होस्टेलमा राखेर पढाउनुपर्ने भएमा पहिचान गरेर छात्रवृत्ति दिइने मन्त्री पोखरेलले बताए ।

बाढी प्रभावित गृह जिल्लामै रहेर पढ्न मन भए त्यसैअनुसार अध्ययनको प्रबन्ध गरिने मन्त्री पोखरेलले बताए । भविष्यमा कोही बालबालिकाले अभिभावक गुमाएमा पनि यो छात्रवृत्ति योजनामार्फत ती विद्यार्थीको शिक्षामा सहयोग गरिने उनको भनाइ छ ।

कार्यक्रमको सुरुवाती चरणमा हिसान, प्याब्सन, एनप्याब्सन, ओपिन तथा नेपाल मन्टेश्वरी संघले सरकारसँग सहकार्य गरेका छन् । कार्यक्रममा अन्य शैक्षिक संस्था तथा संघसंस्थालाई पनि जोडिन आह्वान गरिएको छ।

रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि ल्याइएको यो कार्यक्रम भविष्यमा यस्तै विपद् वा अन्य परिस्थिति सिर्जना भएमा प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिनसमेत उपयोग गरिने बताइएको छ।

शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार रसुवा–भोटेकोसी बाढीपछि २८ शिक्षक र ५ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन छन् । बाढीबाट प्रभावित विद्यार्थीको अध्ययनमा अवरोध नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको हो ।