अट्लान्टा । मातृभूमि बाढीको चपेटामा परेका बेला नेपाली संगीत समूह कन्दराले अमेरिकामा आयोजना गरेको आफ्नो कार्यक्रमलाई राहत अभियानमा रूपान्तरण गरेको छ। शुक्रबार, २८ अगस्टमा अट्लान्टामा सम्पन्न ‘रिदम अफ चेन्ज–नर्थ अमेरिका टुर’बाट बाढीपीडितका लागि २१ लाख नेपाली रुपैयाँ संकलन गरिएको हो।
रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीले ठूलो क्षति पुर्याएको खबरपछि कार्यक्रम स्थगित गर्ने कि निरन्तरता दिने भन्ने विषयमा छलफल भएको थियो। तर, कन्दराले संगीतलाई नै सेवाको माध्यम बनाउने निर्णय गर्दै कार्यक्रमलाई राहत अभियानमा परिणत गरेको हो।
‘देश दुख्दा संगीत मौन रहन सक्दैन’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा अट्लान्टाका नेपाली संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रह्यो। कार्यक्रममा संकलित रकम नेपालीज एसोसिएसन अफ जर्जिया (NAG) मार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको छ।
“हामीले संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्यौं। अट्लान्टाका नेपाली दाजुभाइ–दिदीबहिनीले देखाएको माया, एकता र सहयोगले यो सम्भव भयो,” कन्दराले जनाएको छ।
अभियानमा नेपालीज एसोसिएसन अफ जर्जिया (NAG), नेपाली कल्चरल सेन्टर (NCC), नेप्लिज एसोसिएसन इन साउथइस्ट अमेरिका (NASeA), मधेसी एसोसिएसन इन अमेरिका (MAA)–जर्जिया च्याप्टर, एनआरएनए–जर्जिया च्याप्टर तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS)–जर्जिया च्याप्टरको विशेष सहयोग रहेको कन्दराले जनाएको छ।
हजारौं माइल टाढा रहेर पनि मातृभूमिको पीडामा साथ दिएको कन्दराको यो पहलले संकटमा कला पनि सेवाको शक्तिशाली माध्यम बन्न सक्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।












प्रतिक्रिया