काठमाडौँ । नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले नेपाली खेलकुदमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी ‘रोड टु युएफसी’ सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन्।
अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल भिडन्तमा ढाँटले मर्डकलाई स्प्लिट डिसिजन मार्फत पराजित गरे। निर्णायकहरूले ढाँटको पक्षमा २९–२८ को स्कोर दिएका थिए भने एक निर्णायकले मर्डकको पक्षमा निर्णय गरेका थिए।
रवीन्द्र र कासिबबीचको भिडन्त सुरुदेखि नै निकै रोमाञ्चक र कडा रह्यो। दुवै फाइटरले १५ मिनेटसम्म आक्रामक तथा रणनीतिक प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए। अन्ततः निर्णायकको स्कोरका आधारमा रवीन्द्र विजयी बने।
यस जितसँगै रवीन्द्र ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब फाइनलमा उपाधि जित्न सके उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्नेछन्।
‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले आफ्नो एमएमए करिअरमा बान्टमवेट विधामा अहिलेसम्म ११ खेल खेलेका छन्। उनले १० खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्।
रवीन्द्रले सन् २०२३ मा इस्माइल खानसँग पराजय व्यहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय एमएमएमा आफ्नो प्रभाव जमाउँदै आएका छन्।
गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। उक्त सफलतासँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडीसमेत बने।
त्यसपछि रवीन्द्रले ‘रोड टु युएफसी’ सिजन–५ मा आफ्नो यात्रा अघि बढाए। गत मे महिनामा मकाउमा भएको क्वाटरफाइनलमा उनले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। त्यसबेला उनी ‘रोड टु युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका थिए।
अब रवीन्द्रको नजर फाइनलमा छ। सेमिफाइनलसम्मको शानदार यात्रापछि उनले फाइनलमा पनि जित निकाल्न सके नेपाली एमएमए इतिहासमा अर्को ठूलो अध्याय थपिने छ।












प्रतिक्रिया