राजनीति-समाज

बाढीमा बेपत्ता भएकामध्ये चितवनमा १३५ शव संकलन

बाढीमा बेपत्ता भएकामध्ये चितवनमा १३५ शव संकलन


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

चितवन । रसुवाको भोटेकोशी बाढीमा बगेर बेपत्ता भएकामध्ये चितवनमा हालसम्म १३५ वटा शव संकलन गरिएको छ । संकलित शवको पहिचान प्रक्रिया सहज बनाउन भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको हलमा अस्थायी पहिचान कक्ष स्थापना गरी शवहरू राखिएको छ।

चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर पौडेलका अनुसार शव व्यवस्थित रूपमा राख्न सात वटा डेकर तयार गरिएको छ। शवको सुरक्षाका लागि रातिको समयमा सुरक्षाकर्मी परिचालन गरिनेछ।

Advertisement

शव बिग्रिन नदिन पहिचान कक्षमा माइनस डिग्री सेल्सियस तापक्रम कायम गरिने व्यवस्था मिलाइएको छ। चिकित्सकहरूले शव सफा गरी महिला, पुरुष तथा उमेर समूहअनुसार वर्गीकरण गरेर पहिचानमा सहज हुने गरी स्पष्ट तस्बिरसमेत खिचेका छन्।

एसपी पौडेलका अनुसार ती तस्बिर भोलि बिहान ७ बजेदेखि सोही औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको ठूलो हलमा प्रदर्शन गरिनेछ। आफन्त तथा परिवारजनले तस्बिर हेरेर बेपत्ता व्यक्तिको पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको छ।

शव पहिचानका लागि चितवन आउने पीडित परिवारका सदस्यका लागि जिल्ला प्रशासन कार्यालयले निःशुल्क होटलमा बस्ने व्यवस्था समेत मिलाएको जनाएको छ।