राजनीति-समाज

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो विशेष सूचना जारी गर्दै चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत् प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोशी नदीका मुहान क्षेत्रका दुई नदी थुनिएर ताल बनेको जनाएको छ ।

Advertisement

भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

ताल फुट्ने जोखिमसमेत देखिएकाले भोटेकोशी नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्न आग्रह गरिएको छ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन भनेको छ ।

यसका साथै नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यसअघि चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थलनजिक ठूलो ‘ब्यारियर लेक’ अर्थात् नदी थुनिएर कृत्रिम ताल बनेको जनाएको थियो ।

चिनियाँ सञ्चारमाध्यम सिसिटिभीका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ ।