काठमाडौं । रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् । नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् ।
प्राधिकरणका अनुसार, त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ कर्मचारी सम्पर्कबाहिर छन् ।
चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र वरपर रहेको एकजना सम्पर्क बाहिर छन् ।
यसैगरी चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन रहेको त्रिशूली–३ बी को साइटमा कार्यरत ११ जना सम्पर्कमा बाहिर रहेका छन् ।
चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत् केन्द्रमा ५१ जना सम्पर्कमा रहेका छन् भने अन्य सम्पर्कविहीन छन् ।
त्रिशूली–३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् ।
प्राधिकरणको त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक/एकजना कर्मचारी सम्पर्कबाहिर रहेका छन् ।
रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा कार्य गर्ने एकजना सम्पर्क बाहिर रहेका छन् भने सोही वितरण केन्द्रको गोटागन्ती मिटर रिडर पनि सम्पर्कमा छैनन् । त्रिशूली २२० केभी ३ बी हबमा कन्ट्र्याक्टरको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्कविहीन छन् ।
रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न कन्ट्र्याक्टरको तर्फबाट मर्मत सम्भारमा तथा निर्माण कार्यमा कार्यरत रहेका ९२ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
बाढीबाट कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठको टोली प्रभावित क्षेत्र पुगी अनुगमन गरेको छ । श्रेष्ठले हराइरहेकाहरूको खोज तथा उद्धारका लागि प्राधिकरणको टोली प्रभावित क्षेत्रमा परिचालन गरेका छन् ।
जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्नका लागि अर्को टोली स्थानीय क्षेत्रमा क्रियाशिल रहेको श्रेष्ठले बताए ।
निमित्त कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार, सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको छ । यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाहरुको विवरण संकलन गरी खोज तथा उद्धार कार्य जारी रहेको छ ।












प्रतिक्रिया