राजनीति-समाज

विश्वासको मत संख्या होइन, जिम्मेवारी हो : मुख्यमन्त्री थापा

विश्वासको मत संख्या होइन, जिम्मेवारी हो : मुख्यमन्त्री थापा


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font


हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई राजनीतिक भागबण्डा र सत्ता समीकरणको सीमाभन्दा माथि उठाएर जनताको सरकारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार प्रदेशसभाबाट विश्वासको मत माग्ने प्रयोजनका लागि बसेको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारको प्राथमिकता प्रदेशवासीका समस्या समाधान र विकासको प्रत्यक्ष अनुभूति गराउनु रहेको उल्लेख गरे ।

Advertisement

प्रदेशसभामा सम्बोधन गर्दै थापाले आफूले मुख्यमन्त्रीको जिम्मेवारीलाई अवसरभन्दा बढी चुनौतीका रूपमा लिएको बताए । “वाग्मती प्रदेशका लाखौँ जनताको सेवा गर्ने, उनीहरूको आशा र अपेक्षालाई उपलब्ध साधन र स्रोतको समुचित प्रयोगमार्फत सम्बोधन गर्ने तथा प्रदेश सरकारप्रतिको विश्वास अझ बलियो बनाउने हाम्रो जिम्मेवारी हो,” उनले भने ।

थापाले प्रदेश सरकारको बजेट प्रदेशसभाबाट पारित भइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयन आफ्नो प्रमुख प्रतिबद्धता हुने बताए । सरकारको न्यूनतम साझा कार्यक्रम समेत छिट्टै सार्वजनिक गर्ने उनले जानकारी दिए ।

“आज वाग्मती प्रदेशका जनताले सरकारबाट परिणाम खोजिरहेका छन् । आश्वासनभन्दा नतिजा खोजिरहेका छन् । कागजमा योजना होइन, आफ्नो गाउँठाउँमा विकास खोजिरहेका छन्,” उनले भने ।

उनले कृषि, वन र पर्यटनलाई हरित अर्थतन्त्रसँग जोड्दै युवाका लागि रोजगारी सिर्जना गर्ने नीति सरकारको प्राथमिकतामा रहने बताए । युवाको विदेश पलायन रोक्न प्रदेशभित्रै उद्योग, पर्यटन, सूचना प्रविधि, कृषि, साना उद्यम तथा खेलकुदको विकासमार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

थापाले प्रदेश सरकारलाई केवल प्रशासन सञ्चालन गर्ने संरचनाका रूपमा नभई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्नुपर्ने बताए ।

“प्रदेश सरकार संघीयताको महत्त्वपूर्ण आधार हो । प्रदेश सरकार बलियो भए मात्र संघीयता बलियो हुन्छ । प्रदेश सरकार प्रभावकारी भए मात्र जनताले संघीयताको प्रत्यक्ष अनुभूति गर्न सक्छन्,” उनले भने ।