जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकार संसद् र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलक्षित जनकपुरधाममा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता निधिले सरकारले संसदीय गरिमा र जवाफदेहितालाई उपेक्षा गरेको बताए ।
उनले लोकतन्त्रमा सरकारको वैधता र प्रभावकारिता संसद्प्रतिको उत्तरदायित्वमा निर्भर रहने उल्लेख गर्दै सरकारको कार्यशैली बदलाको भावनाबाट निर्देशित हुन नहुने बताए । पूर्वाग्रहका आधारमा अभियोग लगाउने र अदालतबाट सफाइ पाउने क्रम बढ्नुले सरकारको काममा कमजोरी देखिएको उनको भनाइ थियो ।
नेता निधिले भने, ‘लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ र त्यसको सबैभन्दा ठूलो माध्यम संसद् हो । संसद्लाई महत्त्व नदिनु र जवाफदेहिताबाट पन्छिनुले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ ।’
उनले बदलाको भावनाबाट सुशासन र विधिको शासन सञ्चालन हुन नसक्ने बताउँदै संघीयता कार्यान्वयनमा पनि सरकार गम्भीर नदेखिएको टिप्पणी गरे । प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि प्रदेशले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउनु दुःखद् भएको उनको भनाइ थियो ।
‘दुई तिहाइको बल छ भन्ने दलहरूले नै प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गर्दा संघीयता र प्रदेश संरचना कमजोर भइरहेको छ,’ निधिले भने ।
पार्टीको आन्तरिक विषय र आगामी महाधिवेशनका सन्दर्भमा उनले पार्टी एकता तथा विधानको पालनामा जोड दिए । महाधिवेशनलाई पार्टी एकताका लागि उपयोग गर्दै गाउँ तथा वडा तहसम्म संगठन सुदृढीकरणमा लाग्न उनले कार्यकर्तालाई आग्रह गरे ।












प्रतिक्रिया