राजनीति-समाज

जे मन लाग्यो त्यही बोल्ने प्रवृत्तिले संसद्को गरिमा रहन्न : सभापति थापा

जे मन लाग्यो त्यही बोल्ने प्रवृत्तिले संसद्को गरिमा रहन्न : सभापति थापा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरु’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अहिले मुलुकलाई थप राजनीतिक प्रयोग आवश्यक नरहेको बताएका हुन्।

थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाएकाले उक्त अवधिसम्म काम गर्ने अवसर दिनुपर्ने बताए। पाँच वर्षपछि काठमाडौंले सरकार चलाउने गरी आफूहरू तयारीमा जुटिरहेको उनले जानकारी दिए।

Advertisement

विगतका अनुभवबाट पाठ सिकेर आफूलाई सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिँदै थापाले नयाँ राजनीतिक शक्तिहरूलाई पनि पुराना दलले गरेका गल्ती र भोगेका संकट नदोहोर्‍याउन सुझाव दिए।

सरकारले संसद्मा रहेको संख्यालाई मात्र आफ्नो शक्ति ठान्न नहुने उनको भनाइ थियो। विगतमा कांग्रेस र एमालेले जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनले बताए।

दुई तिहाइ बहुमत भए पनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उल्लेख गर्दै थापाले लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण भूमिका हुने बताए। निर्वाचनमा मत दिएका र नदिएका दुवै वर्गका नागरिकको विश्वास कायम राख्नु सरकारको जिम्मेवारी भएको उनले बताए।

“हामी एकै पटक माथि मात्रै हेर्‍यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्‍यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पुर्‍याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ”, उनले भने।

नयाँ राजनीतिक शक्तिप्रति लक्षित गर्दै थापाले आफूहरूले विगतमा भोगेका संकटबाट नयाँ पुस्ताले पनि सिक्नुपर्ने बताए।

“नयाँ साथीहरूले पनि उहाँहरूले नभोगेको कुरा हामीले भोग्यौँ नि त बाबा । हामीले भोगेको कुरा किन तपाईँहरू भोग्नुहुन्छ फेरि ? तपाईँहरू त नभोग्नुस्”, उनले भने।

थापाले संसद्को गरिमा र सांसदहरूको जिम्मेवारीप्रति समेत प्रश्न उठाए। संसद्मा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने भन्दै उनले पछिल्लो समय सांसदहरूले आफूलाई जे मन लाग्यो त्यही बोल्ने प्रवृत्ति देखिएको बताए।

“यसो संसद्तिर हेर्छु, त्यो प्रत्येक जितिसकेको सांसदलाई फुली लगाएजस्तो लागेको छ । मैले जे बोले पनि हुन्छ । मैले जे फुके पनि हुन्छ । संसद् हो यो ? संसद्को गरिमा हुन्न ? संसद्को मर्यादा हुन्न ?” उनले प्रश्न गरे।

संसद्मा सबैभन्दा बढी सचेत र जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै थापाले संसद्, सरकार, अदालत तथा संवैधानिक निकायमा जिम्मेवारी पाएका सबैले आफ्नो अधिकार कानुनी रूपमा मात्र नभई जनभावनाका दृष्टिले समेत वैध र औचित्यपूर्ण ढंगले प्रयोग गर्नुपर्ने बताए।