काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र स्थापित लोकतान्त्रिक मूल्यमान्यताअनुसार अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिंहले पार्टीका संस्थापक नेताहरूले देखाएको आदर्श र सिद्धान्तबाट विचलित हुन नहुनेमा जोड दिए ।
उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेर राणालगायत संस्थापक नेताहरूले लोकतान्त्रिक पद्धतिको सुदृढीकरणका लागि कांग्रेस स्थापना गरेको स्मरण गरे ।
पार्टीको आन्तरिक अवस्थाबारे टिप्पणी गर्दै सिंहले विधान र नियमावली मिचेर गरिने गतिविधिले संगठनलाई बलियो बनाउन नसक्ने बताए । विगतमा भएका कतिपय निर्णय तथा विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी गर्दै उनले सत्यलाई सत्य र गलतलाई गलत भन्ने साहस काँग्रेसले राख्नुपर्ने धारणा राख्नुभयो ।
उनले भने, “साध्यमा पुग्नका लागि साधन पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने हाम्रो पार्टीको मुख्य स्कुलिङ हो। हाम्रा नेताहरूले जे भन्नुहुन्थ्यो, व्यवहारमा पनि त्यही लागू गर्नुहुन्थ्यो ।”
विधान मिचिएको विषयमा आवाज उठाउँदा पार्टी फुटाउन खोजेको आरोप लगाउने गरिएको भन्दै सिंहले त्यसको खण्डन गरे । उनले २००७ र २०१७ सालको कठिन परिस्थितिमा समेत पार्टीका संस्थापक नेताहरू आफ्नो सिद्धान्तमा अडिग रहेकै कारण काँग्रेसले जनविश्वास आर्जन गरेको बताए ।
पछिल्लो राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै सिंहले पुराना दललाई गाली गरेर मात्रै देश सञ्चालन गर्न नसकिने बताए । किसानले मल नपाएको, ग्यास तथा खाद्यान्नको मूल्य बढेकोलगायतका समस्याले जनजीवन प्रभावित भएको उनको भनाइ थियो।
सिंहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’को भरमा मात्रै देशको शासन सञ्चालन हुन नसक्ने तर्क गरे । मुलुकलाई संकटबाट बाहिर निकालेर सही दिशामा लैजाने ठूलो जिम्मेवारी कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै उनले पार्टीलाई संस्थागत र नियमसम्मत बनाउनु वर्तमान पुस्ताको कर्तव्य भएको बताए ।
सर्वोच्च अदालतको पछिल्लो फैसला तथा मार्गनिर्देशनपछि कांग्रेसले अब विधिसम्मतरूपमा १४औँ महाधिवेशनको प्रक्रिया टुङ्ग्याउँदै १५औँ महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।












प्रतिक्रिया