दमौली । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले भने, “बजेटका सीमाहरु छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगेपनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ, सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ ।”
उनले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसपटकको बजेट वितरणमा न्यायोचित गर्न पहल गरिएको जानकारी दिए । तनहुँका जनताले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा विजयी गराएको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले त्यस कार्यमा जिल्लाबासीले लगाएको गुन र ऋण कहिल्यै नबिर्सिने बताए ।
उनले दुम्सीमा खानेपानी र तटबन्धनका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडी बढाइने बताए । त्यसअवसरमा स्थानीयवासीले दुम्सीका ५०० घरधुरीमा खानेपानीको समस्या रहेकोबारे उनलाई जानकारी गराएका थिए ।












प्रतिक्रिया