काठमाडौँ । नेपाल बार एसोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै उनलाई तत्काल र निशर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।
समितिले विज्ञप्ति जारी गर्दै समाचारको विषयमा कुनै गुनासो भए प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा पत्रकारलाई पक्राउ गरिएको भन्दै चिन्ता व्यक्त गरेको हो ।
समितिले समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गर्ने, सञ्चारगृह बन्द गराउने तथा परिवारका सदस्यलाई मानसिक दबाब दिने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत रहेको जनाएको छ ।
श्रेष्ठलाई हिरासतमा परिवार तथा कानुन व्यवसायीसँग भेट्न नदिएको विषयमा समेत बारले आपत्ति जनाएको छ । यस्तो कार्य संविधानप्रदत्त मौलिक हकविपरीत भएको भन्दै सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ ।
श्रेष्ठको पक्राउले सञ्चार क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको भन्दै नेपाल बारले नागरिकको सूचनाको हक र स्वतन्त्र पत्रकारितामाथि कुनै पनि बहानामा अंकुश नलगाउन सरकारसँग आग्रह गरेको छ ।












प्रतिक्रिया