स्वास्थ्य / जीवनशैली

सांसद् देवकोटाको प्रश्न : ‘गगन थापाको प्रशंसा हुने डरले स्वास्थ्य बिमा खारेज गर्न लागेको हो ?’

सांसद् देवकोटाको प्रश्न : ‘गगन थापाको प्रशंसा हुने डरले स्वास्थ्य बिमा खारेज गर्न लागेको हो ?’


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद् गीता देवकोटाले स्वास्थ्य बिमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद् देवकोटाले यस्तो माग गरेकी हुन् ।

उनले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन ? भन्दै प्रश्न गरिन् ।

Advertisement

उनले स्वास्थ्य बिमा कार्डको आधारमा उपचार गर्न गएका बिरामीले उपचार नपाएको तथा अस्पतालले समेत भुक्तानी मागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद् देवकोटाले नागरिकको जीवनसँग जोडिएका विषयमा लाचार नभई लोक कल्याणकारी बनेर देखाउनसमेत आग्रह गरिन् ।

‘स्वास्थ्य बिमाको नाम सुन्दा लाग्छ नागरिक सुरक्षित छन् । तर, अस्पताल पुगेपछि थाहा हुन्छ कार्ड छ सेवा छैन । बिमा छ औषधि छैन । आश्वासन छ तर उपचार छैन । गगन थापाको पहलमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमलाई अहिले स्वास्थ्य बिमाकै बिमा गर्नुपर्ने अवस्थामा पुग्यो’, उनले थपिन्, ‘कतै यसको जन्मदाताको प्रसंशा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन ?’

उनले भनिन्, ‘बिरामी सोध्छन् बिमा गरेर के पाइयो ? अस्पताल सोध्छ भुक्तानी कहिले आउँछ ? तर सरकारका प्रतिवेदनमा भने सबै कुरा सुस्त देखिन्छ । सरकारलाई आग्रह छ कि भाषण होइन उपचार देऊ, प्रचार होइन औषधि देऊ, प्रतिवेदन होइन परिणाम देऊ । लाचारी होइन लोककल्याणकारी बनेर देखाऊ सरकार । अध्यक्षज्यू यो जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकोले तत्काल कार्यान्वयनको लागि रुलिङ गरियोस् ।’

उनले स्वास्थ्य बिमा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई रुलिङ गर्न सभाका अध्यक्षको ध्यानाकर्षण गराइन् ।