राजनीति-समाज

भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुन्छ : प्रवक्ता पोखरेल

भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुन्छ : प्रवक्ता पोखरेल


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुने बताएका छन् ।

मंगलबार राजनीतिक विषयको रिपोर्टिङ गर्ने संवाददाताहरूसँग अनौपचारिक संवाद गरेका पोखरेललाई केही औपचारिक प्रश्नको जवाफ आग्रह गरिएको थियो । त्यस क्रममा मन्त्री पोखरेलले भदौ २४ गतेको घटनाको छानबिनका लागि आयोग गठनको विषय सरकारले नछोडेको स्पष्ट पारेका हुन् ।

Advertisement

“२४ गतेको घटनाको छानबिनका लागि आयोग बनाउने विषयमा राजनीतिक तहबाट निर्णय भइसकेको छ,” मन्त्री पोखरेलले भने, “कस्तो आयोग बन्छ र कसरी काम गर्छ भन्ने प्राविधिक विषय पनि प्रष्ट भएपछि अर्को भेटमा सबै बताउन सकिन्छ ।”

सरकार गठन भएकै दिन चैत १३ मा सरकारले सय दिनका लागि सयबुँदे कार्यसूची सार्वजनिक गरेको थियो । उक्त कार्यसूचीको सातौँ बुँदामा एक हप्ताभित्र २४ गतेको घटनाको छानबिन समिति गठन गरी निष्पक्ष छानबिनबाट भएको सिफारिसअुनसार कारबाही गर्ने भनिएको छ ।

“सम्वत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने,” बुँदा नम्बर ७ मा भनिएको छ, “उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने ।”

एक हप्ताभित्र बनाउने भनिएको आयोग सरकारले चार महिना पूरा गरिसक्दा पनि बन्न सकेको छैन । अब के आयोग नै नबन्ने हो ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले राजनीतिक तहबाट निर्णय भइसकेको जानकारी दिएका हुन् ।