काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा पर्ने ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को शव बाहिर निकालिएको छ ।
गत बिहीबार हिमाल आरोहण गर्ने क्रममा गएको हिमपहिरोमा परी बेपत्ता भएका पुर्जा शनिबार मृत अवस्थामा फेला परेका थिए। त्यसपछि खराब मौसमका कारण रोकिएको उद्धार कार्यअन्तर्गत आइतबार उनको शव बाहिर निकालिएको पाकिस्तानको पर्वतारोहण क्षेत्रको प्रतिष्ठित संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एपिसी)लाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
एपिसीका अनुसार निम्सको शव ५ हजार ७ सय मिटरको उचाइमा भेटिएको थियो । सोही स्थानबाट उनको शवलाई जापानी क्याम्पसम्म झार्ने तयारी भइरहेको छ । निम्सको शवनजिकै अन्य तीन जनाको शव पनि भेटिएको बिबिसीले उल्लेख गरेको छ, तर मृतक १० जनामध्ये उनीहरू कुन–कुन हुन् भन्ने पहिचान खुल्न बाँकी छ ।
अत्यन्त जोखिमपूर्ण भूगोल, ठाडो भीर र निरन्तरको हिमपहिरोको उच्च जोखिमका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको एसिपीले जनाएको छ । मौसममा सुधार नआएका कारण हेलिकप्टर प्रयोग गर्न नसकिएपछि नेपाल र पाकिस्तानका आठ जना विज्ञ सदस्य रहेको उद्धार टोलीले आइतबार बिहान क्याम्प–१ पुगेर शव निकाल्ने कठिन प्रयास सफल पारेको पाकिस्तानी अनलाइन ‘डन’ले उल्लेख गरेको छ ।
हिमपहिरोमा परेका १० जनामध्ये यसअघि गोरखाका पुरबहादुर गुरूङ (युक्ता)सहित तीन जनाको शव शुक्रबार नै आधार शिविरमा ल्याइएको थियो । ड्रोन र हेलिकप्टरको सहायताले बाँकी बेपत्ताहरूको खोजी गर्दा उनीहरूको शव रहेको स्थान पत्ता लागेको थियो ।
उक्त आरोहण टोलीमा नेपालबाट निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरूङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका थिए । त्यस्तै, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइस् पनि सोही टोलीमा सामेल थिए । उनीहरू सबैको उक्त हिमपहिरोमा परी निधन भएको थियो ।












प्रतिक्रिया