नेपाल

सुस्तामा अस्थायी बाँध भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा विवाद

सुस्तामा अस्थायी बाँध भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा विवाद


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले भत्काएको आरोपपछि सीमा क्षेत्रमा विवाद उत्पन्न भएको छ।

घटनापछि स्थानीयवासी र भारतीय पक्षबीच तनाव बढे पनि अहिले अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रवीन्द्र जैसवालका अनुसार वर्षायाममा आउने पानीको भेल रोक्न स्थानीयवासीले शनिबार माटो राखेर अस्थायी बाँध निर्माण सुरु गरेका थिए।

Advertisement

आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद भएको उनले बताए। जैसवालका अनुसार दुई पक्षबीचको सहमतिअनुसार वर्षाको भेल नियन्त्रण गर्न १३२ मिटर क्षेत्रमा नेपाली पक्षले माटो राखेको थियो। तर, भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोसाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरी बाँध भत्काएको उनले आरोप लगाए।

स्थानीयवासीका अनुसार सुस्ता गाउँपालिका–५ को थारु टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो कच्ची बाँध भत्काइएपछि उनीहरूले विरोध जनाएका थिए। नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षाको भेल रोक्न बनाइएको अस्थायी बाँधका विषयमा विवाद भएको पुष्टि गरे। उनले स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल परिचालन गरिएको र हाल अवस्था सामान्य रहेको बताए।

यस्तै, ‘सुस्ता बचाउ युवा अभियान’का संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशबीच सीमा मानिएको सिमलको रूखभन्दा करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको दाबी गरे।

यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माणको काम रोक्न दबाब दिएको भन्दै निर्माण कार्य रोकिएको थियो। सुस्ता क्षेत्र नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमाका रूपमा रहँदै आएको छ।

यद्यपि, भारतीय पक्षले घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। नेपाली स्थानीयको दाबी र प्रशासनले पुष्टि गरेको विवादबाहेक सीमा अतिक्रमण वा नेपाली भूमिमा प्रवेशसम्बन्धी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।