मनोरञ्जन

दोस्रो पुस्ताकी ‘एनआरएन संयोजक’ दीपमाला बनिन् ‘मिस नेपाल–२०२६

दोस्रो पुस्ताकी ‘एनआरएन संयोजक’ दीपमाला बनिन् ‘मिस नेपाल–२०२६


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

काठमाडौँ । शनिबार ललितपुरस्थित द प्लाजामा सम्पन्न ग्रान्ड फिनालेमा दीपमाला ढकालले मिस नेपाल–२०२६ को ताज पहिरिँदा समारोह ताली र उत्साहले गुञ्जियो । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्ड–२०२६ को उपाधि जितेकी हुन् ।

यसै प्रतियोगितामा कशिश सुब्बा मिस नेपाल कस्मो–२०२६ घोषित भइन् भने आर्या निशान्तले मिस नेपाल इन्टरनेसनल–२०२६ को उपाधि हात पारिन्। निर्णायकहरूको मूल्याङ्कन र विभिन्न चरणको प्रस्तुति पार गर्दै अन्तिम क्षणमा दीपमालाको नाम उच्चारण हुँदा दर्शकदीर्घा भावुक बनेको थियो ।

Advertisement

दीपमाला यस सौन्दर्य प्रतियोगिताकी विजेता मात्र होइनन्, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो पुस्ताकी संयोजक पनि हुन् । गत चैतमा सम्पन्न एकता महाधिवेशनबाट उनी दोस्रो पुस्ताको नेतृत्वमा निर्वाचित भएकी थिइन् । एनआरएनएले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका युवालाई मातृभूमिसँग जोड्ने उद्देश्यले पहिलोपटक विधानमै ‘सेकेन्ड जेनेरेसन कोअर्डिनेटर’को व्यवस्था गरेको थियो ।

हङकङमा जन्मिएकी र हुर्किएकी दीपमालाले नेपाली भाषा, कला र संस्कृतिप्रति देखाएको अनुरागले उनलाई मिस नेपालसम्म पुर्‍याएको हो । यसअघि उनले ‘मिस नेपाल हङकङ’को उपाधि पनि जितेकी थिइन् । तेक्वान्दोमा ‘ब्ल्याक बेल्ट’ खेलाडी र म्याराथन धावकसमेत रहेकी उनी हाल अमेरिकाको अग्रणी लगानी कम्पनी ‘ब्ल्याकरक’मा इन्भेस्टमेन्ट एनालिस्टका रूपमा कार्यरत थिइन् ।

उनको यात्रा आमा रोशनी खरेलको अधुरो सपनासँग पनि गाँसिएको छ । सन् १९९४ मा पहिलोपटक आयोजना भएको मिस नेपालमा रोशनी प्रतिस्पर्धी बनेकी थिइन् तर ताज पाउन सकिनन् । तीन दशकपछि छोरीमार्फत त्यो सपना पूरा भएको देख्दा आमा आँसुमा भिजेकी थिइन् ।

एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राई भन्छिन्, ‘दीपमालाको विजय केवल व्यक्तिगत सफलता होइन, यो दोस्रो पुस्ताका एनआरएनहरूलाई नेपालसँग जोड्ने पुल हो।’ उनका भनाइमा, दीपमालाले संघको सहयोगबिना आफ्नै क्षमताले प्रतिस्पर्धा जित्ने दृढता देखाएकी थिइन्, जसले निर्णायकहरूको मन जित्यो ।

दीपमालाको जितले आगामी जनवरीमा हुने ‘सेकेन्ड जेनेरेसन कन्भेन्सन’लाई थप उत्साह दिने अपेक्षा गरिएको छ। एनआरएनए नेतृत्वले यसलाई नेपालप्रतिको मोह र योगदानमा दोस्रो पुस्तालाई आकर्षित गर्ने महत्त्वपूर्ण उपलब्धि मानिरहेको छ ।

अन्ततः, मिस नेपाल–२०२६ को ताजले दीपमालालाई मात्र होइन, सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई गौरव दिलाएको छ । भूगोल र सुविधाभन्दा माथि उठेर आफ्नो ‘जरा’ रोज्ने उनको निर्णयले संसारभरका नेपाली युवालाई मातृभूमिसँग जोड्ने प्रेरणा दिएको छ । दीपमालालाई बधाई !