नेपाल

हिमालले चिनिएर, हिमालमै अस्ताएका ‘निम्सदाइ’

हिमालले चिनिएर, हिमालमै अस्ताएका ‘निम्सदाइ’


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

काठमाडौँ । विश्व पर्वतारोहण क्षेत्रमा सबैभन्दा चर्चित नाममध्ये एक हुन् निर्मल पुर्जा उर्फ ‘निम्सदाइ’। नेपाली मूलका बेलायती नागरिक पुर्जाले सन् २०१९ मा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर त्यतिबेलाको विश्व कीर्तिमान कायम गरेका थिए।

४३ वर्षीय पुर्जा पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ‘ब्रोड पिक’मा बिहीबार आएको हिमपहिरोमा परी अस्ताएका छन् । उक्त हिमपहिरोमा ‘निम्स दाई’सहित पुरबहादुर गुरुङ ‘युक्‍ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पाको निधन भएको छ । उनीहरुसँगै ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी र चीनका वाङ जोङ पनि थिए ।

Advertisement

निर्मल पुर्जाको जन्म २५ जुलाई १९८३ मा म्याग्दी जिल्लाको करिब १,६०० मिटर उचाइमा रहेको एउटा सानो गाउँ दानामा भएको हो । उनका बुबा र दाजुहरूजस्तै उनले पनि १८ वर्षको उमेरमा सन् २००३ मा ब्रिटिस गोरखा रेजिमेन्टमा भर्ती भए । त्यसपछि सन् २००९ मा बेलायतको स्पेसल बोट सर्भिस एसबिएस विशेष फौजमा आबद्ध भए ।

ब्रिटिस सेनामा १६ वर्ष सेवा गर्ने क्रममा उनको पर्वतारोहणप्रति रुचि बढ्दै गयो । सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबिई उपाधि प्रदान गरेकी थिइन् ।

सन् २०१२ मा उनी सगरमाथा आधार शिविर पुगे । त्यहाँबाट काठमाडौँ फर्किने योजना त्यागेर उनले वास्तविक रूपमा पर्वतारोहण सिक्ने निर्णय गरे । त्यसपछि उनले ६,११९ मिटर अग्लो लोबुचे इस्ट आरोहण गरे, जुन उनको पहिलो हिमाल थियो । यही साहसी सोचले उनलाई विश्वका सबैभन्दा सफल पर्वतारोहीमध्ये एक बनायो ।

निर्मल पुर्जाले यसपटक सुरुमा ग्यासरब्रुम–२ (जी–२) मात्र आरोहण गर्ने योजना बनाएका थिए । तर पाकिस्तान जानुअघि उनले ब्रड पिक पनि आरोहण गर्न सकेमा अक्सिजनबिना विश्वका १४ वटा आठहजारे हिमाल दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्न अब एउटा हिमाल मात्र बाँकी रहने महसुस गरे । बेपत्ता हुनुभन्दा केही दिनअघि सामाजिक सञ्जाल एक्समा उनले लेखेका थिए, ‘यो योजना पहिले बनाएको थिएँ भन्ने होइन। अवसरहरू चिच्याएर आउँदैनन्, चुपचाप मेहनत गरिरहेकाहरूलाई फुसफुसाएर आउँछन्।’

उनले ब्रड पिकबारे लेखेका थिए, ‘म ब्रड पिकसँग सुरक्षितरूपमा माथि पुगेर फर्किन सकूँ भन्नेबाहेक केही माग्दिनँ । कुनै पनि हिमाललाई म कहिल्यै सामान्य ठान्दिनँ।’ यसअघि उनले जुलाई २१ मा ग्यासरब्रुम–२ सफलतापूर्वक आरोहण गरेका थिए । त्यो उनको ८ हजार मिटरभन्दा अग्ला हिमालको ५७औँ सफल आरोहण थियो ।

१४ हिमाल आरोहणको ऐतिहासिक कीर्तिमान

सन् २०१९ मा पुर्जाले ‘प्रोजेक्ट पसिबल’ नाम दिएर सुरु गरेको अभियानमा विश्वका सबै १४ वटा आठहजार माथि उचाई भएका हिमाल ६ महिना ६ दिनमा आरोहण गरे । त्यसबेलासम्मको कीर्तिमान करिब आठ वर्षको थियो । उनको यो कीर्तिमान पछि सन् २०२३ मा नर्वेली पर्वतारोही क्रिस्टिन हरिलाले ३ महिना १ दिनमा सबै १४ हिमाल आरोहण गर्दै तोडेकी थिइन् ।

निर्मल पुर्जाको ‘प्रोजेक्ट पसिबल’ यात्रामाथि आधारित ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्रीले विश्वव्यापी चर्चा पाएको थियो।

घर धितो राखेरै पूरा गरेका थिए सपना

१४ हिमाल आरोहण अभियान सञ्चालन गर्न उनले आफ्नै घर पुनः धितो राखेर रकम जुटाएका थिए । यस अभियानमा उनकी श्रीमती सूची पुर्जाले निरन्तर साथ दिएकी थिइन् । निर्मल पुर्जा जोखिमपूर्ण अभियानका बीच पनि रमाइलो गर्न नछोड्ने स्वभावका रूपमा परिचित थिए । उनले एक अन्तर्वार्तामा सगरमाथा, ल्होत्से र मकालु तीन दिनमै आरोहण गर्न सक्ने भए पनि दुई रात साथीहरूसँग रमाइलो गर्न रोकिएकाले पाँच दिन लागेको बताएका थिए।

भाइरल बनेको सगरमाथाको त्यो तस्बिर

सन् २०१९ मा सगरमाथाको शिखर नजिकै उनले खिचेको आरोहीहरूको लाम लागेको दृश्य विश्वभर भाइरल बनेको थियो । त्यस तस्बिरले सगरमाथामा बढ्दो भीडभाड र त्यसले निम्त्याउने जोखिमबारे अन्तर्राष्ट्रिय बहस सुरू गराएको थियो । ‘प्रोजेक्ट पसिबल’पछि उनी विश्वव्यापी रूपमा चर्चित बने। त्यसपछि उनले आफ्नै पर्वतारोहण कम्पनी र आउटडोर पोशाक ब्रान्ड स्थापना गरे ।

साथै विदेशी आरोहीलाई शिखरसम्म पुर्‍याउन ठूलो योगदान दिने नेपाली शेर्पा र पर्वत मार्गदर्शकहरूको योगदानलाई अन्तर्राष्ट्रियरूपमा उचित सम्मान दिनुपर्ने आवाज पनि उठाउँदै आए । निर्मल पुर्जाको सफलतासँगै केही विवाद पनि जोडिएका छन्। सन् २०२४ मा ‘द न्यूयोर्क टाइम्स’ले प्रकाशित गरेको समाचारमा दुई महिलाले उनीमाथि यौन दुर्व्यवहारसम्बन्धी आरोप लगाएका थिए ।

एक महिलाले सन् २०२३ मा होटलको कोठामा यौन दुर्व्यवहार गरेको र अर्कीले सन् २०२२ मा के–टु अभियानका क्रममा आफूलाई अनुचित व्यवहार गरेको आरोप लगाएकी थिइन् । निर्मल पुर्जाले भने आफ्ना कानुनी प्रतिनिधिमार्फत ती सबै आरोप अस्वीकार गरेका थिए । हिमपहिरोमा बेपत्ता हुनुअघि यसै साता ‘एक्स’मा उनले लेखेको अन्तिम सन्देशलेले अहिले धेरैलाई भावुक बनाइरहेको छ ।

‘आज म जहाँ छु, यहाँसम्म पुर्‍याउने सबैलाई यो सफलता समर्पित छ। मेरा समर्थक र आलोचक दुवैलाई धन्यवाद। दुवै नभएको भए मभित्रको आगो बल्ने थिएन ।’