तेहरान । इरानको संसद्का उपसभामुख हमिदरेजा हाजी बाबाईले इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताउँदै रणनीतिक हर्मुज जलघाँटीलाई इरानको ‘शक्तिको शिखर’ भएको टिप्पणी गरेका छन् । उनले प्रतिरोधको नीतिलाई निरन्तर अघि बढाइने र क्यास्पियन सागर क्षेत्रमा कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन् ।
इरानी समाचार संस्था आइएसएनएका अनुसार संसद्को सार्वजनिक तथा बन्द सत्रलाई सम्बोधन गर्दै हाजी बाबाईले हिजबुल्लाहले इरानी नेतृत्वप्रति व्यक्त गरेको समर्थनलाई प्रतिरोध आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे । उनका अनुसार यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा इरान र प्रतिरोध पक्षको प्रभाव बढाएको छ तथा अमेरिका र इजरायललाई पछि हट्न बाध्य बनाएको छ ।
उनले दिवङ्गत सर्वोच्च नेता अयातुल्ला सैय्यद अली हुसैनी खामेनीको भनाइ उद्धृत गर्दै लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षण तथा इजरायली आक्रमणको पूर्ण अन्त्यलाई कुनै पनि सम्भावित समझदारीको पहिलो सर्त बनाइएको बताए ।
वर्तमान सर्वोच्च नेता अयातुल्ला सैय्यद मोजताबा हुसैनी खामेनीको भनाइ उद्धृत गर्दै हाजी बाबाईले जिहाद र प्रतिरोधबाहेक अर्को विकल्प नरहेको र यही मार्गमा अडिग रहे सफलता प्राप्त हुने धारणा व्यक्त गरे ।
अमेरिकाप्रति लक्षित टिप्पणी गर्दै उनले इरानले वासिङ्टनको इच्छाअनुसार चल्न नहुने र अमेरिकालाई क्षेत्रमा प्रभावशाली भूमिका खेल्न दिइन नहुने बताए । उनका अनुसार इरानी जनताको इच्छाशक्तिले अमेरिकालाई क्षेत्रीय तथा इरानको आन्तरिक राजनीतिमा निष्क्रिय बनाएको छ ।
हाजी बाबाईले अमेरिकाको युद्ध, शान्ति र संवाद सबै रणनीतिक उद्देश्यबाट निर्देशित हुने दाबी गर्दै त्यसकारण इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताए ।
उनले विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने हर्मुज जलघाँटीले इरानलाई ठूलो रणनीतिक शक्ति दिएको उल्लेख गर्दै त्यसको संरक्षणलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने धारणा राखे ।
यसैबीच, क्यास्पियन सागरमा इरानी जहाजमाथि हालै भएका भनिएका आक्रमणको प्रसङ्ग उल्लेख गर्दै उनले युक्रेनलाई चेतावनी दिँदै त्यस्तो कुनै पनि गतिविधि दोहोरिए इरानले कडा प्रतिक्रिया दिने बताए । एएनआई












प्रतिक्रिया