नेपाल

साउनको पहिलो सोमबार : पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

साउनको पहिलो सोमबार : पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरी पूजा, आराधना गर्नेको घुइँचो लागेको छ । मन्दिरमा आउने सबै दर्शनार्थीले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएकाले मन्दिर परिसरभित्र बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।

पशुपतिनाथसहित देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको दिनभरि घुइँचो लागेको थियो । पशुपतिनाथ मन्दिरमा आज आउनेजति सबैलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिए । उनका अनुसार दर्शन गर्न लाइन बस्नेको आँकडाअनुसार अनुमानित दुई लाखभन्दा बढी दर्शनार्थीले पूजा, आराधना र दर्शन गरेका छन् ।

Advertisement

बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको थियो । बिहान ९ः०० बजे अघि लाममा बसेको आधा घण्टामा मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन सकेर फर्कनसकिने अवस्था रहेकामा ९ः०० बजेपछि भने करिब एक घण्टा ३० मिनेटसम्म लागेको उनले बताए । बेलुकी ६ः०० बजेपछि पनि आधा घण्टामा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको कोषले जनाएको छ ।

आज बिहानै ३ः०० बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । बिहान भने भक्तजनले सहज रूपमा दर्शन पाएका थिए । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका थिए । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पूजाको व्यवस्था गरिएको छ ।

कोषले यसवर्ष रु एक हजार तिरेर टिकट काटी सुलभ रूपमा दर्शन गर्न सक्ने व्यवस्थासमेत गरेको छ । यो व्यवस्थालाई सुलभ दर्शन भनिएको छ । यो व्यवस्थाले सहज रूपमा दर्शन गरेर काम विशेषले हिँड्नेका लागि सजिलो भएको छ । भगवान्को दर्शन गरी राजधानी बाहिर वा विदेश जानेका लागि सहज भएको कोषले जनाएको छ । यसरी करिब २५ जनाले दर्शन गरेका कोषको सञ्चालक परिषद् सदस्य भण्डारीले बताउनुभयो । तर यो व्यवस्थाको केही भक्तजनले भने बिरोध जनाएका छन् ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

यसवर्ष विशेष पूजाका लागि करिब २५० जनाले रसिद काटेका छन् । रु तीन हजार १०० र रु सात हजार ५०० को रसिद काटी विशेष पूजाको व्यवस्था मिलाइएको छ । बिहान ८ः३० बजेदेखि करिब १२ः०० बजेसम्म भक्तजनलाई विशेष पूजा गराइएको थियो ।

मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको थियो । बिहानैदेखि भक्तजन आएपनि लामो लाम भने नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ ।

साउनको पहिलो सोमबार आज पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नेले गोकर्णेश्वर र गोकर्णेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शन गर्नेले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नै पर्ने भन्ने नियम पनि रहेको जनाइएको छ ।