गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं–११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।
आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना र उपकरणमा आइतबार लेदोसहितको बाढी पसेको थियो । बाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायत संरचनामा क्षति पुर्याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए ।
“आयोजनास्थल जोड्ने सडक पनि ठाउँ–ठाउँमा भत्केको छ, ड्रम, पाइपलगायत निर्माण सामग्री बाढीले बगाएको छ”, उनले भने, “आयोजनामा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्दैछौँ ।” पहुँच मार्गमा क्षति पुगेपछि आयोजनास्थल आवातजावत गर्न पनि कठिनाइ सिर्जना भएको आयोजनाका प्राविधिक बेलवासेले बताए ।
घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक हवल्दार सागर चौधरीले आयोजनास्थलमा निर्माण गरिएका सुरुङ र अस्थायी टहरामा पनि बाढी पसेको बताए । उनले रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।
४२ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत रु १० अर्ब ५७ करोडको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । किम्रुङ खोलाको बाढीले झोलुङ्गे पुलसमेत बगाएको थियो । किम्रुङ खोला हुँदै मोदी खोलामा मिसिएको बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउली बजारमा एक घर, रेष्टुराँ र घान्द्रुक जोड्ने सडकमा क्षति पुगेको थियो ।












प्रतिक्रिया