नेपाल

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

महोत्तरी । पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको बर्दिबास नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

अत्यधिक बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने बताउँदै बिहीबार (२१ जेठ) र शुक्रबार २२ (जेठ) दुई दिन नगरक्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जानकारी दिए ।

Advertisement

बर्दिबास जिल्लामा सबैभन्दा बढी विद्यालय रहेको स्थानीय तह हो । यहाँ ५५ सामुदायिक र अन्य संस्थागत र धार्मिक गरी ८० भन्दा बढी विद्यालय छन् । जिल्लामा गत शनिबारयता धेरै गर्मी बढेको छ । शनिबारयता निरन्तर मध्याह्नतिर ३८ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहँदै आएको छ ।

गत आइतबार नै जिल्लाकै गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा कोठामै १० जना छात्रा बेहोस भएर ढलेका थिए । उपचारपछि सबै छात्रा अब ठिक भइसकेका छन् ।

दिनभरि घामको प्रचण्ड राप र तातो हावा बहने क्रम बढेको छ । यसले जनजीवन निकै प्रभावित भएको छ । त्यस्तै एक–दुई दिनभित्र मौसममा सुधार नभए विद्यालय बन्द गर्नेबारे छलफल गरिने मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । 

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । गर्मी छल्न बर्दिबासले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेपनि अन्य स्थानीय तहले भने अहिलेसम्म यस्तो सूचना गरेका जानकारी नभएको शिक्षा विकास समन्वय इकाई महोत्तरी कार्यालयका प्रमुख निर्मल घिमिरेले बताए ।