काठमाडौँ । अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट आज सार्वजनिक गर्दै छ ।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आएका छन् । आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ ।
बजेटमा बर्सौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित दु्रत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजीलगायतको घोषणा गर्ने सरकारको तयारी छ ।
त्यस्तै निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउनेलगायतका घोषणा पनि बजेटमार्फत गर्ने तयारी छ ।
उपभोग र लगानी बढाउँदै बढीमा सात वर्षभित्र एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ । बजेटको आकार २० खर्ब नाघ्ने अनुमान गरिएको छ ।
अर्थमन्त्री वाग्लेले संसद्मा आयव्ययको अनुमान समावेश हुने विनियोजन विधेयकसहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुने छ ।
नेपालको संविधान, २०७२ अनुसार हरेक वर्ष जेठ १५ गते आगामी आवको आयव्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ ।
संसद्मा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन बिहीबार अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।












प्रतिक्रिया