गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ।
कामका लागि रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन भएपछि उहाँको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट उतै निधन भएपछि तीन सन्तानसहित आफन्तजनमा बज्रपात परको छ।
बर्दियाको बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ४३ वर्षीय ज्ञानबहादुर सुरुमा दुबई जाने तयारीमा रहे पनि एजेन्टसँगको भेटपछि रुस पुगेका थिए। रुसमा उनको युक्रेन युद्धसँग जोडिएका क्षेत्रमा पुगेको र मारिएको खबर पाउन श्रीमती इन्दिरा उतै पुगिन् ।
श्रीमान्काे अवस्था बुझ्न र परिवारको भविष्य जोगाउने आशामा ४० वर्षीय इन्दिरा तीन सन्तानलाई लिएर पोखराको बाटुलेचौरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । लामो समयसम्म श्रीमान्काे कुनै खबर नआएपछि हारगुहार गर्दै उनी रुस पुगेकी थिइन् ।
सम्पर्कविहीन श्रीमान्काे निधन नै भएको थाहा पाएर सबै प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहेकै बेला इन्दिरालाई एक्कासी हृदयाघात भयो । रुसस्थित नेपालीहरूको सहयोगमा उनलाई ओएम पिलाटाभका नाममा रहेको सिष्टी क्लिनिकल अस्पताल १५ नम्बरको २३ वेश्न्याका भस्काया स्ट्रिट, मस्कोमा उपचारका लागि लगिएको थियो।
गत वैशाख ३१ गते उपचारकै क्रममा इन्दिराको निधन भयो । अहिलेसम्म पनि शव परीक्षण रिपोर्ट आउन सकेको छैन र आर्थिक अभावका कारण उहाँको शव नेपाल ल्याउनसमेत कठिनाइ भएको इन्दिराका बुवा चिरन कार्की बताउँछन् ।
छोरी फागुनको ४ गते श्रीमान्काे खोजी गर्न रुसका लागि पोखराबाट काठमाडौँतर्फ लागेको उनले जानकारी दिए। इन्दिराका परिवार अहिले मामाघरमा सँगै बस्दै आएका छन्।
इन्दिराका कान्छा छोरा आठ वर्षीय सौरव थापामगर कक्षा ३ मा पढ्छन्। मुटुमा समस्या भएका कारण सौरवको बेग्लै समस्या छ । नियमित उपचार आवश्यक भए पनि आर्थिक अभावले उपचार रोकिएको छ। आमाको निधन भएको थाहा नदिएइ पनि केही दिनयता नाती सौरव बाटोतर्फ हेर्ने, कम बोल्ने, मलिन र एकोहोरो स्वभावको बन्दै गएको सौरवका हजुरबुबा कार्की बताउँछन्।
पोखरा महानगरपालिका वडा नं १३ कसेरीस्थित मामाघरमा आश्रय लिएर बसिरेहका सौरवले भने, “आमा आउँदा साइकल ल्याइदिन्छु भने ।” ठुलो छोरा निरज थापामगरले भने घर राम्रोसँग हेर्नु र भाइबहिनीको ख्याल गर्नु भनेर आमाले सम्झाएर जानु भएको थियो आज यस्तो अवस्था आयो । “बुवाको निधनको पुष्टि भएपछि कुशको शव बनाएर दाहसंस्कार गर्यौँ,” भावविह्ल हुँदै २४ वर्षीय निरजले भने, “बुबाको किरिया गरेको एक वर्ष नपुग्दै आमाको पनि निधन भयो अब के गर्ने ?”
थापामगर परिवारको यो समस्या केबल एउटा परिवारको पीडा मात्र होइन, जोखिमपूर्ण वैदेशिक रोजगारीको कठोर यथार्थ पनि हो । गरिबी, बेरोजगारी र दलालको जालोले नेपाली युवालाई युद्धग्रस्त भूमिसम्म धकेलिरहेको छ । त्यसको सबैभन्दा ठुलो मूल्य निर्दोष बालबालिकाले चुकाइरहेको छन् । यो परिवारमा भविष्यको भन्दा पनि शव ल्याउने समस्यासमेत जटिल बनेको छ।
पोखरा महानगरपालिका–१७ आँखा अस्पतालचोक निवासी इन्दिराकी माइतीतर्फ कान्छीआमा दिलमाया कार्कीका अनुसार एक साताअघि मात्रै इन्दिरासँग फोन सम्पर्क भएको थियो।
“एउटै समस्या भएका हामी १२ जना नेपाली महिला एउटै कोठामा बसेका थियौँ, धेरै जना काम सकेर फर्किनुभयो कोठामा कसैले कसैलाई सहयोग गर्न गर्दैनन् । घर फर्किन पाए परिवारलाई भेट्थेजस्तो लागिरहेको छ”, इन्दिराले सुनाएको पीडा दिलमायाले सम्झिइन्। विमानस्थलमा अलपत्र परेकी इन्दिरालाई एक जनाले भेटेर हिन्दी भाषामा समस्या सुनाएपछि नेपालीले सहयोग गरेका थिए।
इन्दिराको सहयोगी बनेर रुस पुगेका माइतीतर्फका काकाको छोरा भाइ सुरज कार्कीलाई सहयोगीका रूपमा लिएर रुसको मस्को विमानस्थलमा झर्नेवित्तिकै सुरक्षाकर्मीले सोधपुछ गर्दै थियो एकै छिनमा नेपाल फर्काइदियो ।
“भाइको कपडा मेरो झोलामा थियो र सम्पूर्ण रकम भाइसँग थियो बोल्न पनि नपाएपछि बेखर्ची भएर विमानस्थलमै अलपत्र परे” छोरीले दिलमायाले भक्कानिँदै आँखाभरी आँसु पार्दै बताइन्। अब बितेका दुवै जनाको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुसी सरकारसँग पहल गर्नुपर्नेमा उनको जोड थियो।












प्रतिक्रिया