जियुकुआन (चीन) । चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ । यसलाई लामो अवधिको मानव अन्तरिक्ष बसाइसम्बन्धी महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ ।
शेनझोउ–२३ अन्तरिक्ष यान उत्तरपश्चिम चीनस्थित जियुकुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाइएको हो । चीनले सन् २०३० भित्र पहिलोपटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्यतर्फ तयारी तीव्र बनाइरहेका बेला यो प्रक्षेपणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
यस मिसनमा कमान्डर झु याङ्झु, झाङ झियुआन र लाइ का–यिङ सहभागी हुनुहुन्छ । चिनियाँ अधिकारीहरूले लाइलाई उनको नामलाई म्यान्डारिन भाषामा उच्चारणअनुसार रूपान्तरण गरेर ‘ली जियायिङ’ नामले पनि चिनाउने गरेका छन् ।
हङकङमा जन्मिएका तथा त्यहीँ हुर्किएका लाइले कम्प्युटर फरेन्सिक विषयमा विद्यावारिधि हासिल गरेका छन् । उनलाई अन्तरिक्ष मिसनमा सहभागी हुने सहर पृष्ठभूमिबाट आएका पहिलो चिनियाँ अन्तरिक्ष यात्रीका रूपमा पनि प्रस्तुत गरिएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार शेनझोउ–२३ को टोलीले अन्तरिक्षमा दर्जनौँ वैज्ञानिक तथा प्रयोगात्मक परियोजनाहरू सञ्चालन गर्ने तयारी गरेको छ । यो टोलीले हाल २०० दिनभन्दा बढी समयदेखि टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा कार्यरत शेनझोउ–२१ का चालक दलसँग कक्षामा भेट गर्ने तथा कार्य हस्तान्तरण प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ ।
यस मिसनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको तीन सदस्यीय टोलीमध्ये एक अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेशनमा लगातार एक वर्ष राख्ने योजना हो । यो बसाइ सफल भएमा त्यसलाई अन्तरिक्षमा मानवको सबैभन्दा लामो एकल प्रवासमध्ये एक मानिनेछ । सरकारी सञ्चारमाध्यमका अनुसार यस प्रयोगको उद्देश्य लामो अवधिको अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूलन क्षमता, सहनशीलता तथा कार्यसम्पादन सीमाबारे विस्तृत अध्ययन गर्नु हो ।
पछिल्ला वर्षहरूमा चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा विस्तार गर्दै आएको छ । टियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई केन्द्रमा राखेर चिनियाँ अन्तरिक्ष यात्रीहरूले लगातार नयाँ मिसनहरू सञ्चालन गरिरहेका छन् । यो अन्तरिक्ष स्टेशन चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकी प्रतिबन्धका कारण प्रभावकारी रूपमा बाहिरिएपछि आफ्नै पहलमा विकास गरेको संरचना हो ।
विश्व अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिकालाई चीनको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले पनि सन् २०२८ सम्ममा पुनः चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य अघि सारेको छ । यसले अन्तरिक्ष क्षेत्रमा दुई शक्तिबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ ।
चीनको अन्तरिक्ष स्टेशन टियाङ्गोङले पहिलोपटक सन् २०२१ मा चिनियाँ चालक दललाई स्वागत गरेको थियो । त्यसयता यो चीनको मानव अन्तरिक्ष अभियानको मुख्य आधार बनेको छ । टियाङ्गोङको अर्थ ‘स्वर्गीय महल’ भन्ने हुन्छ ।
गत वर्ष शेनझोउ कार्यक्रममा आपतकालीन उद्धार मिसनसमेत सञ्चालन गरिएको थियो । ‘दिव्य पोत’ भन्ने अर्थ दिने यस कार्यक्रमअन्तर्गत क्षतिग्रस्त अन्तरिक्ष यानका कारण अन्तरिक्ष स्टेशनमा अड्किएका अन्तरिक्ष यात्रीहरूको टोलीलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको थियो । शेनझोउ–२३ को प्रक्षेपणसँगै चीनले अब दीर्घकालीन अन्तरिक्ष बसाइ, वैज्ञानिक अनुसन्धान र चन्द्र अभियानतर्फ आफ्नो रणनीतिक तयारीलाई अझ अगाडि बढाएको सङ्केत दिएको छ । एपी












प्रतिक्रिया