राजनीति-समाज

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय तहको भूमिका अझ प्रभावकारी र सम्मानित बनेको बताएका छन् ।

सुनसरीको कोशी गाउँपालिकामा निर्माण गरिएको लौकही सिटी हलको उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कामलाई तीव्रता दिन आवश्यक रहेको उल्लेख गरे । उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भावना अनुरूप सुशासन, विकास र जनहितका कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

Advertisement

राष्ट्रपति पौडेलले शान्ति, सुशासन र विकासमार्फत मात्र संविधानले परिकल्पना गरेको उद्देश्य हासिल गर्न सकिने भन्दै स्थानीय तहले यसमा विशेष ध्यान दिनुपर्ने बताए । स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिएको निकाय भएकाले सेवा प्रवाह, सुविधा विस्तार र विकास निर्माणमा यसको जिम्मेवारी महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

उनले ग्रामीण क्षेत्रमा आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु प्रशंसनीय भएको उल्लेख गर्दै यस्तो परियोजना तीनै तहका सरकारबीचको सहकार्यको उत्कृष्ट उदाहरण भएको बताए ।

राष्ट्रपति पौडेलले कोशी गाउँपालिका ऐतिहासिक, धार्मिक र भौगोलिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएको पनि स्मरण गरे । सप्तकोशी नदी किनारस्थित कुशाहाघाट प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको ऐतिहासिक स्थल भएको उल्लेख गर्दै उनले बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा जस्ता धार्मिक स्थलले यस क्षेत्रलाई पर्यटनका लागि सम्भावनायुक्त बनाएको बताए ।

उनले यस क्षेत्रको भ्रमणबाट आफूलाई विशेष अनुभूति भएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले २०६५ सालमा कोशी बाँध फुट्दा प्रभावित बनेको यस क्षेत्रमा पुनः बस्ती स्थापना भई विकासका गतिविधि अगाडि बढेको देख्दा खुशी लागेको बताए । साथै, बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनका पूर्वतयारीलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।