बिजनेस/ इकोनोमी

वहिष्करणमा परेको क्षेत्रलाई बजेट विनियोजनमा विशेष प्राथमिकता दिइन्छ : अर्थमन्त्री

वहिष्करणमा परेको क्षेत्रलाई बजेट विनियोजनमा विशेष प्राथमिकता दिइन्छ : अर्थमन्त्री


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् ।

आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गरे ।

Advertisement

विकासको मार्गचित्र स्पष्ट भए मात्रै सहज रूपमा कार्यान्वयन हुने मान्यतामा आफू रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले पहिलो पटक ‘मिसन मोड’लाई अभ्यासमा राखिएको बताए ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले सरकारको दृष्टिकोण मात्रै प्रतिबिम्बित गर्दैन कार्यान्वयमा पनि इमान्दार प्रयत्न गर्नुपर्छ भन्नेमा पनि आफू स्पष्ट रहेको उनले उल्लेख गरे ।

सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका सम्बन्धमा सांसदहरूले राखेको सुझाव र धारणा समेटेर सङ्घीय संसद् सचिवालयले आवश्यक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालयमा पेस गरिने जानकारी गराए ।

त्यसअघि छलफलमा भाग लिँदै सांसद अर्जुनकुमार कार्की गरिब र गरिबी भन्ने कुनै पनि शब्द विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमा कहीँ कतै पनि समावेश नभएकामा गुनासो गरे ।

सांसद इन्दिरा राना मगरले गरिबीको रेखामुनि रहेका स्वास्थ्योपचार नपाएका नागरिकलाई सम्बोधन गर्नैपर्ने र स्वास्थ्य शिक्षाका विषयलाई थप प्राथमिकतामा राख्न आग्रह गर्दै विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तको समर्थन गरिन् ।

सांसद योगेश गौचन थकालीले दैनिक ठूलो सङ्ख्यामा नेपाली नागरिक विदेशिएको तथ्याङ्क पेस गर्दै आर्थिक रूपमा सक्रिय युवा जनसङ्ख्या पलायन हुँदा पर्ने प्रभावलाई न्यून गर्ने खालको बजेट विनियोजन हुनुपर्ने विचार राखे ।

सांसद क्षितिथ थेवेले तमोर जलाशयशयुक्त आयोजनालाई प्राथमिकतामा राख्न, अलैँचीको समर्थन मूल्य तोक्न, जडीबुटी उत्पादन, प्रशोधन गर्ने प्रणालीको विकास गर्न, किसानको उत्पादनलाई घरघरमा नै मूल्य दिने व्यवस्था गर्न माग गरे ।

सांसद सागर भुषालल विनियोजन विधेयक केवल खर्चको दस्तावेज नभएर देशको सम्भावना, आत्मनिर्भरता र समृद्धिको स्पष्ट मार्गचित्र भएको टिप्पणी गरे । उनले भने, “सीमित स्रोत र चुनौतीपूर्ण आर्थिक परिस्थितिका बीच पनि उत्पादन, रोजगारी, सुशासन र जनविश्वासलाई केन्द्रमा राखेर यति दूरदर्शी सिद्धान्त र प्राथमिकता ल्याउनु वास्तवमै प्रशंसनीय कार्य हो ।”

सांसद विक्रम थापाले विनियोजन विधेयकमा कृषि र बहुआयामिक विषय, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता समेटिनु सकारात्मक भएको टिप्पणी गरे ।

सांसद समीक्षा बाँस्कोटा, जगदीश खरेल (ललितपुर), प्रशान्त उप्रेती र नरेन्द्रकुमार गुप्ताले अनुष्का श्रेष्ठ, रुक्मिणी देवी कोइराला, अच्युत्तम लामिछाने, भरतबहादुर खड्का, राम लामा, राजन गौतम, श्रद्धा कुँवर श्रेत्री, रुकेश रञ्जितलगायतले छलफलमा भाग लिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजे बस्नेछ ।