काठमाडौं । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागती सफाइ महाअभियान आजदेखि १३ औँ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ ।
२०७० जेठ ५ गते राजधानी काठमाडौंको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। पचासौँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धएका थिए ।
सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरेका थिए। हालसम्म पनि उनको नेतृत्व जारी छ। त्यसबेलादेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा ७ः०० बजेदेखि ९ः०० बजेसम्म र जाडोमा ७ः३० बजेदेखि ९ः३० बजेसम्म वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ। महाअभियान आगामी शनिबारदेखि ६८० औँ हप्तामा प्रवेश गर्दैछ।
वाग्मतीबाट हालसम्म २२ हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ। महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन्। सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन्। धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ।
महाअभियान १४ औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएको पनि दुई वर्ष पूरा भएको छ। महाअभियानका अभियानकर्मी डा माला खरेल फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताइन्।
महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ। काठमाडौं उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगंगा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानभन्दा बढी ठाउँमा सफाइ भइरहेको छ।
काठमाडौं उपत्यका बाहिरका प्रमुख सहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ। काठमाडौं उपत्यका बाहिर करिब १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ। महाअभियानले देशव्यापी रुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ।
अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले स्थानीय सरकारकै काममा सहयोग गरिरहेको भए पनि स्थानीय सरकारको ध्यान नजाँदा हुनुपर्ने जति प्रभावकारी नभएको टिप्पणी हुने गरेको छ।
महाअभियानले १४ औँ वर्ष प्रवेशको कार्यक्रम विशेषरुपमा गरेको छ। यसअघिका कार्यक्रम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा गर्ने गरिएकामा यसपटक भने अभियानकर्मीकै समूहले बानेश्वरमा गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
सो अवसरमा बानेश्वर क्याम्पसअघिको वाग्मती नदी किनारमा सफाइ गरी त्यहाँ बिरुवा पनि रोपिएको उनले बताए। आज रोपिएका बिरुवा पाँच फिटभन्दा अग्ला मात्र छन्।












प्रतिक्रिया