मुख्य समाचार

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
‘नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरुको सहभागिता रहने छ’, उनले भने, ‘त्यसबाहेक कोलोराडो राज्यका ५० भन्दा बढी स्रष्टा र साहित्यप्रेमीको उपस्थिति रहने छ ।’

Advertisement

बिओटी सभापति विश्वकर्माले सम्मेलनमा मदन पुरस्कार बिजेता डा नवराज लम्साल, निलम कार्की ‘निहारिका’, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अङ्ग्रेजी साहित्यकार डा ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, होमनाथ सुवेदी, राधेश्याम लेकाली, गोवर्द्धन पूजा, पुरु सुवेदी, मोहन सिटौला, भुटानी साहित्य परिषदका अध्यक्ष खेम रिजाल उर्जा, पत्रकार तथा लेखक सुधीर शर्मा, बबिता बस्नेत, वसन्त बस्नेत, विपुल पोखरेल, नारायण श्रेष्ठ, प्रेम बाँनिया, सुरज भण्डारी लगायत १७५ जनाभन्दा बढीको सहभागिता रहने बताए ।

उनले चार दिनसम्म सञ्चालन हुने सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिने जानकारी दिए ।

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनका लागि कोलाराडोको वेष्टमिनिष्टरस्थित होटल डुरी इनमा ५० भन्दा बढी कोठा बुक गरिएको जानकारी दिए ।
२२ मेमा अतिथिहरुको स्वागतमा रात्रिभोज आयोजना गरिने जानकारी दिएका महासचिव सिटौलाले सम्मेलनको औपचारिक उद्घाटन २३ मेमा गरिने बताए ।

उनले २३ र २४ मेमा बिभिन्न सत्रहरुमा ख्यातिप्राप्त साहित्यकार तथा लेखकहरुका बीचमा साहित्यका विभिन्न विधामा बहस गरिनेसमेत जानकारी दिए ।
सिटौलाले सम्मेलनका दुई दिन बिहान योगा र साँझ काव्य उत्सव आयोजना गरिने बताए ।

उनले सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता निलम कार्की ‘निहारिका’, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतका बीचमा हुने बहसको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्ने जानकारी दिए ।

उनले चौथो तथा अन्तिम दिन अतिथिहरुलाई कोलाराडोको ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरुको भ्रमण गराउने कार्यक्रम रहेको बताए ।

अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले सम्मेलनमा ५३ हजार डलर खर्च हुने अनुमान गरिएकोमा ३५ हजार डलर सङ्कलन भइसकेको र बाँकी रकम पनि चाँडै सङ्कलन हुने बताइन् ।

सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न स्वस्फुर्त ढङ्गले मनकारी व्यक्ति तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको अधिकारीले जानकारी दिइन् ।
उनले सहयोग गर्ने सम्पूर्णदाता तथा संघसंस्थाहरुलाई धन्यवाद दिइन् ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा सम्मेलनका संयोजक किरण अधिकारीले सम्मेलनका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिए ।

उनले सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न कोलोराडोका विभिन्न संघसंस्था र व्यक्तिहरुबाट उत्साहजनक रुपमा सहयोग प्राप्त भएको बताए ।

सम्मेलन संयोजक अधिकारीले अतिथिहरुका लागि आवास, भोजन र भ्रमणको उचित प्रबन्ध मिलाइएको बताए । उनले विश्वका विभिन्न मुलुकबाट आउने अतिथिहरुलाई कलरफुल कोलोराडोमा स्वागत गर्न आतुर रहेको सुनाए ।

सम्मेलनमा फुड पार्टनरका रुपमा जोडिएका कोलोराडोस्थित नेपाली रेष्टुरेष्टहरुले अतिथिहरुलाई स्वादिष्ट नेपाली परिकारको प्रबन्ध गर्ने अधिकारीले जानकारी दिए ।

सांस्कृतिक समितिका संयोजक विजयदेव अधिकारीले सम्मेलनमा विभिन्न जातजाति र समुदायका झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने बताए ।