बिश्व घटना

मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री

मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री


शेयर गर्नुहोस:

378
Shares

  • change font
  • change font

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्वका लागि अघि सारेकाे चार बुँदे प्रस्तावलाई इरानले औपचारिक समर्थन जनाएको छ।

चीनका लागि इरानी राजदूत अब्दोलरेजा रहमानी फजलीले सामाजिक सञ्जालमार्फत इरान उक्त प्रस्ताव कार्यान्वयनमा सहकार्य गर्न तयार रहेको जानकारी दिएका हुन्। हालै बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघाची र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको भेटवार्तामा पनि यस विषयमा गम्भीर छलफल भएको थियो।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी मे १३ देखि १५ सम्म हुने चीन भ्रमणको पूर्वसन्ध्यामा इरानको यो सकारात्मक प्रतिक्रिया आएको हो। ट्रम्प र सी चिनफिङबीच हुने उच्चस्तरीय वार्तामा मध्यपूर्वको सुरक्षा चासोले प्राथमिकता पाउने देखिएको छ।

चीनको यस चार बुँदे प्रस्तावमा पश्चिम एसिया र फारसको खाडीमा साझा सुरक्षा संरचना निर्माण, सबै राष्ट्रको सार्वभौमिकताको सम्मान, अन्तर्राष्ट्रिय कानुनको पालना र सैन्य शक्तिको प्रयोगलाई निषेध गर्ने जस्ता महत्त्वपूर्ण बुँदाहरू समेटिएका छन्।

प्रस्तावले विकास र सुरक्षालाई सन्तुलित रूपमा अघि बढाउँदै दीर्घकालीन आर्थिक स्थायित्व कायम गर्नुपर्नेमा विशेष जोड दिएको छ। राष्ट्रपति सीले गत अप्रिल १४ मा संयुक्त अरब इमिरेट्सका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयानसँगको भेटका क्रममा यो अवधारणा पहिलोपटक सार्वजनिक गरेका थिए।

यसैबीच, चिनियाँ विदेशमन्त्री वाङ यीले पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दार र इरानी विदेशमन्त्री अराघ्चीसँग छुट्टाछुट्टै संवाद गरी क्षेत्रीय तनाव कम गर्न सक्रियता बढाएका छन्।

संवादका क्रममा चीनले इरान र अमेरिकाबीचको बढ्दो तनाव न्यूनिकरण गर्न तथा युद्धविरामको वातावरण बनाउन आफ्नो तर्फबाट निरन्तर रचनात्मक र कुटनीतिक पहल जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ। चीनले मध्यपूर्वमा दीर्घकालीन शान्ति र क्षेत्रीय सहकार्यका लागि आफू सधैं तयार रहेको समेत स्पष्ट पारेको छ।