काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउने बताएका छन् ।
राष्ट्रपति भवनमा आज आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उनले साहित्य, कला र सङ्गीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताए ।
राष्ट्रपति पौडेलले साहित्य, कला र सङ्गीत राष्ट्रिय सम्पत्ति र पहिचानका आधार भएका उल्लेख गर्दै भने, “बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हुन् ।”
उनले नेपाली गीतसङ्गीतको प्रवर्द्धनमा जोड दिँदै यसको विकास तथा आधुनिकताबीच सन्तुलन कायम गर्नुपर्ने विचार व्यक्त गरे । राष्ट्रपतिले परम्परागत शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु सर्जकहरूका निम्ति चुनौती र अवसर दुवै भएका बताए ।
राष्ट्रपति पौडेलले गीतसङ्गीतका क्षेत्रमा लागेकाहरुलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न नहुने बताए । उनले भने, “त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।” उनले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्याएको योगदान अनुकरणीय रहेको बताउदै भने, “नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीतसङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ ।”












प्रतिक्रिया