काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै जनप्रतिनिधिहरूमाथि ठूलो जिम्मेवारी आएको बताएका छन्। निर्वाचन आयोग नेपालद्वारा बहादुर भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमार्फत जनताले व्यक्त गरेको अभिमतले देशलाई सही दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेलेको बताए।
उनले भने, “लोकतन्त्रमा मत फरक हुन सक्छ, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्छ।” राष्ट्रपति पौडेलले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि जनप्रतिनिधिहरूले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।
साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य अनुसार जनताको जीवनस्तर उकास्न सबै पक्ष सक्रिय हुनुपर्ने उनले बताए। उनले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास अझ सुदृढ भएको उल्लेख गरे। मतदाताको मतादेशले देशको भविष्य निर्धारण गर्ने उनले बताए।
राष्ट्रपतिले यसपटक निर्वाचनमा पारदर्शिता, मितव्ययिता, आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा ‘हरित निर्वाचन’ अवधारणाको कार्यान्वयनमा उल्लेखनीय प्रगति भएको बताए।
उनका अनुसार यसले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरणमैत्री बनाउन मद्दत पुगेको छ। निर्वाचन सफल बनाउन भूमिका खेलेका सरकार, निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी तथा आम नागरिकप्रति राष्ट्रपति पौडेलले धन्यवाद व्यक्त गरेका छन्।












प्रतिक्रिया