तेहरान । इजरायलले मङ्गलबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख तथा शक्तिशाली नेता अली लारीजानीको हत्या गरेको घोषणा गरेको छ । नेता लारीजानीको मृत्युबारे इजरायलले गरेको दाबीबारे इरानको आधिकारिक भनाइ भने आइसकेको छैन ।
यदि दाबीअनुसार इरानी अधिकारीको मृत्यु नै भएको हो भने मध्यपूर्वमा जारी युद्धको दुई हप्ताभन्दा बढी समयपछि इरानका लागि यो अर्को ठूलो धक्का हुनेछ।
इजरायली रक्षामन्त्री इजरायली काट्जले लारीजानीको सोमबार राति आक्रमणबाट मृत्यु भएको बताएका छन् ।
फेब्रुअरी २८ मा अमेरिका–इजरायली आक्रमणमा सन् १९८९ यता इरानका सर्वोच्च नेता रहेका अयातोल्लाह अलि खामेनीको मृत्यु भएको तीन हप्ता पनि नबित्दै इरानका लागि यो अर्को झड्का हो । इरानमा ६८ वर्षीय लारीजानीलाई इरानबारे रणनीति तयार गर्ने ‘भित्री मान्छे’ को रूपमा हेर्ने गरिएको छ ।
उनलाई पूर्व सर्वोच्च नेता दिवङ्गत खामेनीको निकट र दशकौँदेखि तेहरानको परमाणु नीति र रणनीतिक कूटनीतिको केन्द्रमा रहेका नेताका रूपमा हेरिन्छ ।
युद्ध सुरू भएपछि लारिजानी झनै शक्तिशाली भएका थिए । नयाँ सर्वोच्च नेता मोजतबा खामेनी आफ्ना पिताको स्थानमा नियुक्त भएदेखि सार्वजनिकरूपमा देखिएका छैनन् तर लारीजानी गत हप्ता तेहरानमा सरकार समर्थक ¥यालीमा भीडसँगै हिँडेको देखिएको थियो ।
एएफपीका एक पत्रकारले तेहरानमा रात ‘मेघ गर्जन’ र वमवर्षासँगै विस्फोट भएको पुष्टि गरेका छन् । इजरायलले उनलाई मारेको बताएको केही समयपछि लारीजानीको आधिकारिक सामाजिक सञ्जाल प्रोफाइलमा यस महिना अमेरिकी पनडुब्बीको आक्रमणबाट इरानी युद्धपोत डुब्दा मारिएका इरानी नाविकहरूलाई श्रद्धाञ्जली दिँदै हस्तलिखित नोट पोस्ट गरिएको छ । उक्त नोटमा उनको मृत्युको दाबीबारे केही उल्लेख गरिएको छैन ।
इजरायलले इरानको रिभोलुसनरी गाड्र्सको बासिज अर्धसैनिक बलका प्रमुख घोलामरेजा सुलेमानीलाई पनि मारेको बताएको छ । इरानमा प्यालेस्टिनी इस्लामिक जिहाद समूहको सैन्य शाखाका प्रमुख अक्रम अल–अजौरीलाई लक्षित गरी आक्रमण गरेको तर उनको मृत्यु भएको पुष्टि नभएको बताइएको छ ।
सन् २०२३ अक्टोबर ७ देखि इजरायलले हमासको आक्रमणलाई विश्लेषकहरूले लेबनानमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गाजाका शीर्ष नेताहरूलाई लक्षित गर्दै आक्रमण नीतिको अनुसरण गरिरहेको छ ।
इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी कहाँ रहेका छन् भन्ने धेरै अड्कलबाजीको विषय बनेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भनेका छन्, “उनको मृत्यु भएको छ वा छैन अझै हामीलाई प्रष्ट थाहा छैन ।” एएफपी












प्रतिक्रिया