बोस्टन, अमेरिका। नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति सरेको छ। आज पौष १८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौष महिनाको अन्तिममा गर्ने भनिएको नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन गरेसंगै १५औं महाधिवेशनको मिति सरेको हो।
बैठकले पर्याप्त समयको अभावका कारण तोकिएको महाधिवेशन कार्यतालिका प्रभावित भएको, कार्यतालिका अनुसार कार्यसम्पादन गर्न नसकिएको र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न पर्याप्त समय नहुने भएको कारण देखाउदै महाधिवेशनको मिति सारेको छ।
बैठकको निर्णय अनुसार पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने गरी बनाइएको कार्यतालिकालाई परिमार्जन गरी आगामी २०८३ साल बैशाख २८, २९, ३० र ३१ गते काठमाण्डौंमा गर्ने निर्णय गरेको छ। त्यसका लागि बैठकले अन्य कार्यतालिकामा पनि परिमार्जन गरी नयाँ कार्यतालिका बनाएको छ।
परिमार्जन गरिएको कार्यतालिका अनुसार, एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाले माघ ३ गते भित्र र दुइ वा दुइभन्दा बढि निर्वाचन क्षेत्र भएका जिल्लाहरुले माघ १० गते भित्र क्रियाशिल सदस्य टुङ्ग्याएर केन्द्रमा पठाउनु पर्ने छ भने, प्रवासमा रहेका क्रियाशिल सदस्यहरुको हकमा माघ ७ गतेको समय सिमा तोकिएको छ।
यसैगरी, तोकिएको मितिमा नियमित महाधिवेशन सम्पन्न गर्ने गरी गाँउ तथा नगर वडा अधिवेशन चैत्र २१, गाँउ/नगरपालिका अधिवेशन चैत्र २५, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत्र २८, एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरुको अधिवेशन २०८३ साल बैशाख २, दुइ वा दुइभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन बैशाख ५ र प्रदेश अधिवेशन बैशाख १०, ११ र १२ गते सम्पन्न गर्ने नयाँ कार्यतालिका बनाइएको छ।
यद्यपि, पार्टीका महामन्त्री द्वय विश्व प्रकाश शर्मा र गगन थापाले महाधिवेशन सार्ने निर्णयमा असहमति जनाउदै विरोध गरेका छन्। द्वय महामन्त्रीको नेतृत्वमा विशेष महाधिवेशनको माग गर्दै आएकाहरुले पार्टीको विधान अनुसार तोकिएको मितिमा नियमित महाधिवेशन गर्न नसकेको खण्डमा माग गरिएको विशेष महाधिवेशन स्वत क्रियाशिल हुने जिकिर गरिरहेका छन्।
देशमा जेनजी आन्दोलनपछि उब्जिएको विशेष परिस्थिति र पार्टीको महाधिवेशनलाई बैठकको प्रमुख एजेण्डा बनाएर गत असोज २८ बाट नेका पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको थियो। नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद भएका कारण बैठक अनिर्णको बन्दी बनिरहेको थियो। अन्ततः गत मङ्सिर १५ गते काँङ्ग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको विधान अनुसार सबै संरचनाहरुको म्याद आगामी माघ मसान्तसम्म बढाउदै आगामी पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो।











प्रतिक्रिया