हनोई । भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् । धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेका छन् ।
अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम निरन्तर वर्षाको ठूलो प्रभावमा पर्दा लोकप्रिय पर्यटकीय सीमानाका सहरहरूमा बारम्बार बाढी ल्याई करोडौँ डलर बराबरको आर्थिक क्षति पुर्याएको छ ।
तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र डुबानमा परे भने प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ । डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सीले बाढीका कारण आफू र आफ्नी श्रीमती दुई रातसम्म छतमा फस्नुपरेको बताए ।
नोभेम्बर १६ पछि दर्ता भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । त्यहाँ दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले बताएको छ । तुय हो बजार क्षेत्रको पानी केही घटे पनि ४० वर्षीया विक्रेती भो हु डुले आफूले बेच्ने अधिकांश सामान भिजेको वा माटोले छोपिएको बताए ।
वर्षौंदेखि बाढीबाट जोगिन विक्रेताहरूले पाँच सेन्टिमिटर जति उच्च स्थान सुरक्षित मान्दथे, तर यसपटक पानी एक मिटरभन्दा माथि पुगेपछि त्यो उपाय पनि निष्प्रभावी भयो ।
६० वर्षीय सिरेमिक विक्रेता गुयेन भ्यान थोईले बजारका स्टलबीचको बाटोभरि क्षतिग्रस्त वस्तुहरू हटाउनै नसकिने अवस्था रहेको बताए । एएफपी












प्रतिक्रिया