अमेरिका – विश्वकै सबैभन्दा चर्चित क्रिप्टोकरन्सी बिट्कोइन पुनः ठूलो उतार–चढावमा परेको छ। बिट्कोइन पछिल्ला केही दिनयतादेखि लगातार कमजोर बन्दै गएको छ र यसको मूल्य अहिले छ महिनाकै सबैभन्दा तल्लो स्तरमा पुगेको छ। बजार विश्लेषकहरूको भनाइअनुसार, यसपटकको गिरावट सामान्य उतार–चढाव होइन, किनकि बिट्कोइनलाई वर्षौँदेखि सम्हालेर राख्ने दीर्घकालीन लगानीकर्ताहरू नै ठूलो मात्रामा बेच्ने क्रम बढाएका छन्। यसले बजारमा अविश्वास र डर फैलिएको छ।
क्रिप्टो बजारमा दबाब बढ्नुका पछाडि विश्व आर्थिक अनिश्चितता, टेक्नोलोजी बजार कमजोर हुनु, र क्रिप्टोमाथि कडाइ आउने सम्भावना जस्ता कारणहरू छन्। पछिल्ला ३० दिनमै ठूलो मात्रामा बिट्कोइन बिक्री भएको देखिएको छ, जसले बजारमा ‘बिक्री–लहर’ अझै गहिरो बनाएको छ। लगानीकर्ताहरू जोखिमयुक्त सम्पत्तिबाट पैसा निकालेर सुरक्षित क्षेत्रमा लैजान थालेका छन्।
दीर्घकालीन लगानीकर्ताले बिट्कोइन बेच्न थाल्नु नै बजारको कमजोर मनोविज्ञानको संकेत मानिन्छ। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार, हालसम्म क्रिप्टो बजारबाट ८०० अर्ब डलरभन्दा बढी मूल्य हराइसकेको बताइन्छ। यस्तो ठूलो गिरावटले बजारलाई फेरि उठ्न समय लाग्नसक्ने संकेत दिएको छ।
अमेरिका तथा विश्वभर रहेका नेपाली लगानीकर्ताका लागि अहिले सतर्क भएर अघि बढ्न आवश्यक छ। बजार निकै अस्थिर भएकाले, हतारमा खरीद–बिक्री गर्नु जोखिमपूर्ण हुन सक्छ। क्रिप्टोको उतार–चढाव धेरै हुने भएकाले दीर्घकालीन योजना, जोखिम व्यवस्थापन र जानकारीका आधारमा निर्णय लिनु सबैभन्दा सुरक्षित विकल्प हो।












प्रतिक्रिया