सोलुखुम्बु । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।
हाल यस क्षेत्रमा करिब तीन हजार बढी विदेशी पर्यटक रहेको अनुमान छ । सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौँबाट लुक्ला आएका थिए ।
दिङ्बोचेभन्दा माथि करिब दुई हजार विदेशी पर्यटक रहेको अनुमान गरिएको छ । लगातारको हिमपात र वर्षाले चिसो बढेको छ । खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भने, “आज बिहानदेखि निकै चिसो छ, हिउँले गाउँ ढाकेको छ, सबैजना घरभित्रै छौँ ।”
लगातारको हिमपातले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ । पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार सुनसान भएको छ । “हिउँले सुन्दर दृश्य त दिएको छ, तर दैनिकी भने कठिन बनाइदिएको छ,” खुम्जुङकी शिक्षक कोपिला घतानीले बताइन् ।












प्रतिक्रिया