काठमाडौँ । शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेनजी युनाइटेड समूहले आपत्ति जनाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जेनजी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् ।
जेनजी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेसन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । आफूहरुमो माग पूरा नभएसम्म आन्दोलन भने निरन्तर अगाडि बढिरहने उनको चेनावनी दिए ।
उनले भने, ‘हामी जेनजीहरु आन्दोलन गर्दै गर्दा युनिफिकेसन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेसन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो ।’
जेनजीका अर्का वक्ता मन्जना राईले जेनजीले बनाएको सरकारले जेनजीलाई नै टुक्रा–टुक्रा बनाउन चाहेको टिप्पणी गरिन् । ‘हाम्रै आँखाअगाडि हाम्रा साथीहरुलाई लछारपछार गरेर लगिएको छ । जेनजीले बनाएको सरकार छ । जेनजीलाई नै टुक्रा–टुक्रा बनाउनको लागि बनाइएको सरकार हो त्यो ?’ उनले प्रश्न गरिन् ।
यस्तै, अर्का वक्ताले जेनजीहरुको रगतको आहालमा बसेर वर्तमान सरकारले उनीहरुमाथि नै अन्याय गरिराखेको बताए । उनले आज प्रदर्शनकारीहरुलाई प्रहरीले लछारपछार गरेको भन्दै आफूहरुको घोर आपत्ति रहेको बताए । प्रदर्शनको क्रममा पुरुष प्रहरीले महिला प्रदर्शनकारीमाथि अभद्र व्यवहार गरेको उनको आरोप छ । ‘जेनजीले बनाएको सरकार छ । रगतको आहालमा बसेर यो सरकारले हामीलाई धरपकड गरिरहेको छ । पुरुष प्रहरीले महिलालाई अभद्र व्यवहार गरेर भ्यानमा हालेर लगेको छ । यसमा हाम्रो घोर विरोध छ ।’
आफूहरुले आइतबार पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सि देशैभर नै रणनीति बनाएर अगाडि बढ्ने उनले बताए ।
जेनजी आन्दोलनका घाइते भुपेन्द्र खड्काले सरकारले जेनजीहरुको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दबाउन खोजेको बताए । घाइते र शहीदहरुको रगतमा उभिएर बनेको सरकारले जेनजीमाथि नै दमन गरिरहेको उनले बताए ।












प्रतिक्रिया