काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए)ले दिएको जानकारीअनुसार, पछिल्ला २४ घन्टाभित्र गाजा सहरमा बारम्बार हवाई आक्रमण, तोपगोलाबारी, हेलिकप्टर तथा अन्य यन्त्रबाट आक्रमण भएको छ । साथै, राहत सामग्रीको प्रतीक्षामा रहेका निर्दोष नागरिकहरूमाथि गोली प्रहारसमेत गरिएको छ ।
यस आक्रमणमा हालसम्म दर्जनौँ नागरिकको ज्यान गएको र दुई सयभन्दा बढी घाइते भएका छन् ।
गाजा सहरबाट ज्यान जोगाउँदै भाग्ने मानिसहरू दक्षिण गाजातर्फ सरेका छन् । ओसिएचएका अनुसार, पछिल्लो समय करिब १६ हजार ५ सय व्यक्तिहरू उत्तर गाजाबाट विस्थापित भएका छन् । तर, दक्षिण गाजाको अवस्थासमेत अत्यन्तै दयनीय रहेको छ ।
गाजा सहरमा अझै पनि लाखौँ नागरिकहरू फसेका छन्, जसले अत्यावश्यक सेवा र राहत सामग्रीमा भर पर्नु परिरहेको छ । तर, इजरायली पक्षबाट मानवीय सहायता पु¥याउने काममा निरन्तर अवरोध सिर्जना भइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घले इजरायली सेनासँग समन्वय गरी सहायता सामग्री पुर्याउने १५ वटा अभियान सञ्चालन गरेकोमा केवल ७ वटा मात्र पूर्णरूपमा सफल भएका छन् । बाँकी अभियानहरू विभिन्न अवरोधका कारण रोकिएका छन् ।
केही राहत सामग्री केरम शालोम नाकाबाट संकलन गरिएको भए पनि उत्तर गाजामा पानी पुयाउन अनुमति दिइएको छैन । अन्य नाकाहरूबाट खाद्यान्न लिनसमेत निषेध गरिएको छ ।












प्रतिक्रिया