काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सुरक्षाकर्मीको मनोबल उच्च बनाउँदै शान्तिसुरक्षाको अवस्थालाई मजबुत, शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगजनी र तोडफोड भएका सरकारी संरचनाको पुनर्निर्माणमा विशेष ध्यान दिँदै शान्तिसुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न आग्रह गरिएको छ ।
“क्षति भएका निजी सम्पत्तिको आँकलन गर्न र यसप्रकारका हिंसात्मक घटना हुनाका कारणको पहिचान गर्दै भविष्यमा पुनः दोहोरिन नदिने वातावरण बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, विकसित परिस्थितिमा सरकारले चाल्ने सुधारका कदममा सहयोग पुर्याउन आयोग सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछ ।”
आयोगले घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर हुँदा शान्तिसुरक्षामा थप चुनौती सिर्जना हुनसक्ने अवस्था सिर्जना भएको र सुरक्षाकर्मीका भवन जलेर नष्ट भएको, प्रहरीका कतिपय भवन मर्मत÷निर्माण गर्न समुदायले सहयोग गरेको भए पनि सबै कार्यालय पुनर्निर्माण हुन नसक्दा सुरक्षालगायत प्रहरीबाट प्रदान गरिने सेवा प्रवाहमा बाधा उत्पन्न हुन पुगको जनाएको छ ।
यस्तै, कारागार तथा बालसुधार गृहबाट बाहिर निस्केका बन्दीहरूको फिर्ती तथा कारागार व्यवस्थापनमा गम्भीर समस्या देखिएको जनाएको छ । “आगलागी र तोडफोडका क्रममा केही व्यक्तिको जलेरसमेत मृत्यु भएको, सरकारी अभिलेख जलेको, भौतिक सम्पत्तिमा क्षति पुगेको, सुरक्षाकर्मीका हातहतियार लुटिएको र कतिपय सामान चोरी र लुटपाटसमेत गरिएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “शैक्षिक संस्थाहरूमा क्षति पुग्दा बालबालिकाको पठनपाठनमा बाधा उत्पन्न हुनुका साथै बाल मनोविज्ञानमा असर परेको छ । यस विषयमा पनि सम्बद्ध सबै गम्भीर बन्न आवश्यक छ ।”
भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका एजेण्डासहित गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापश्चात् मानवअधिकारको अवस्थाका बारेमा आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
आयोगले आगजनीबाट महत्त्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यावसायिक भवन, शैक्षिक संस्था, सञ्चारगृह र प्रहरी कार्यालयमा अत्यधिक क्षति पुगेको देखिएको जनाएको छ ।
प्रदर्शनको पहिलो दिनको सुरुमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्याह्नपश्चात् आगजनीका घटना र प्रदर्शनकारीमाथि गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको आयोगको भनाइ छ । पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्धा आगजनी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।












प्रतिक्रिया