किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको ‘ऐतिहासिक’ वार्ताको दुई दिनपछि सोमबार वासिङ्टनमा ट्रम्पसँग भेट गर्ने बताएका छन् ।
जेलेन्स्कीले युद्ध अन्त्यका लागि वासिङ्टनको भूमिकालाई निर्णायक हुने उल्लेख गर्दै भने, ‘युक्रेन शान्ति ल्याउन अधिकतम प्रयास गर्न तयार छ, राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेट र छलफलका मुख्य बुँदाबारे मलाई जानकारी गराउनु भयो, अमेरिकाको सहभागिता स्थिति परिवर्तनमा महत्त्वपूर्ण हुनेछ।’
ट्रम्पले प्रस्ताव गरेको युक्रेन(अमेरिका(रुस त्रिपक्षीय बैठकलाई स्वागत गर्दै उनले यस्तो ढाँचा शान्तिका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । ‘सोमबार म वासिङ्टनमा राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेट्ने छु, हत्या र युद्ध अन्त्यका सम्भावनाबारे विस्तृत छलफल गर्ने छौँ, निमन्त्रणाका लागि म आभारी छु,’ जेलेन्स्कीले भनेका छन्।
युरोपेली संलग्नता र भरपर्दो सुरक्षा ग्यारेन्टी आवश्यक भएको उल्लेख गर्दै उनले थपे, ‘युक्रेनले समाधानका लागि आफ्नो प्रयासमा कुनै कसर बाँकी राख्ने छैन, हामीले सबै साझेदारहरूसँग निरन्तर समन्वय गरिरहेका छौँ।’
यसअघि, ट्रम्पले सोमबार वासिङ्टनमा जेलेन्स्कीसँग भेट हुने र परिस्थिति अनुकूल भएमा पुटिनसँगको बैठक पनि सम्भव हुने बताएका थिए।
यसबाहेक, गत शुक्रबार अमेरिका र रुसबीच युक्रेन युद्ध विरामबारे अलास्कामा बहुप्रतीक्षित वार्ता भएको थियो। रुसका वरिष्ठ अधिकारी किरिल दिमित्रिभले अमेरिकाले दिएको ‘उत्कृष्ट स्वागत’को प्रशंसा गर्दै, कठिनाइबीच पनि दुवै देशबीच सम्बन्ध निर्माण जारी रहने बताए । एएनआई












प्रतिक्रिया