मस्को । रुसको सुदूरपूर्वी दुर्गम क्षेत्रमा बिहीबार ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ ।
सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जङ्गलमा खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिएको भिडियोहरू रूसी सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन् ।
सरकारी सञ्चारमाध्यम र अनुसन्धानकर्ताले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा जीवित व्यक्तिको कुनै सङ्केत नपाइएको देखाइएको छ ।
अङ्गारा एयरलाइन्सको विमान ब्लागोभेश्चेन्स्क शहरबाट टिन्डा शहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ः०० बजे राडारसँग सम्पर्कबिच्छेद भएको थियो ।
एक उद्धार हेलिकप्टरले टिन्डा विमानस्थलबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको जङ्गली पहाडको ढलानमा विमानको जलिरहेको भग्नावशेष फेला परेको थियो ।
रुसी अन्वेषकहरूले सार्वजनिक गरेको भिडियोमा दुर्घटनास्थलबाट धुवाँ उठिरहेको र जङ्गलको भुइँमा छरिएको विमानका टुक्राहरू देखिएको छ।
सरकारी समाचार संस्था तासका अनुसार दुर्घटना भएको केही घन्टापछि मात्र खोजी तथा उद्धार टोली घटनास्थल पुगेको थियो र त्यहाँ कोही पनि जीवित रहेको कुनै प्रमाण फेला परेको थिएन । अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारण भने खुलाएका छैनन् ।
अङ्गारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सेर्गेई सलामनोभले रुसको आरइएन टिभी च्यानललाई बताएअनुसार घटनाको समयमा मौसम खराब थियो तर विमानचालक (क्याप्टेन)ले उडान गर्ने निर्णय गरेका थिए ।
करिब ३० हजार मानिसको बसोबास रहेको टिन्डा चिनियाँ सीमाबाट करिब २०० किलोमिटर (१२५ माइल) टाढा घना ताइगा जङ्गलमा अवस्थित छ । उक्त विमानमा कम्तीमा एक जना चिनियाँ नागरिक रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।












प्रतिक्रिया