मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो

गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो

हिमालय खबर

शेयर गर्नुहोस:

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले शनिबारदेखि अनशन तोडेका छन् । गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच पाँचबुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहमन्त्री रमेश लेखकले उनलाई जुस पिलाएर अनशन तोडाएका थिए ।

समारोहमा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताउँदै सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए । सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गरेको भन्दै मन्त्री लेखकले प्रशंसा गरे ।

उनले भने, “आमाहरू, तिनका सन्तानहरूको जीवन जोगाउनका लागि जुन तपस्या गर्नुभयो र हामीलाई झक्झक्याउनुभयो र हाम्रो ध्यान गम्भीरतापूर्वक आकर्षण गराउनुभएको छ, तपाईंलाई धन्यवाद छ ।”

गृहमन्त्री लेखकले अहिले सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुनुहुँदैन र सबै पीडामा रहेकाहरूको उद्धार गर्नुपर्छ भनेर उनले राखेको माग जायज भएको पनि बताए । हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर सिलवालले उठाएको कुरालाई समावेश गरी अघि बढ्ने पनि उनले प्रतिबद्धता जनाए । उनले तोकतान्त्रिक ढङ्गले गरिएको दीपक सिलवालको दबाब शान्तिवादी अभ्यास भएको प्रतिक्रिया दिए ।

उक्त कार्यक्रममा गृह मन्त्रालयका सूचना अधिकारी तामाङले यसअघिको हवाई उद्धारको समीक्षा गर्दै आपत्कालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत, साधन तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थान गरी थप प्रभावकारी बनाउनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिए ।

हिजोको छलफलबाट सहमति गरी आज औपचारिक रुपमा हस्ताक्षर भएको जानकारी गराउँदै उहाँले सहमतिसँगै आजैका मितिबाट सिलवालको अनशन पनि अन्त्य भएको जानकारी दिए ।

कार्यक्रममा एक महिना अनशन बस्नुभएका सिलवालले आफ्नो माग हवाई एम्बुलेन्स नै रहेको जानकारी दिँदै अहिलेको हवाई उद्धार प्रभावकारी नभएकोतर्फ गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए । उनले सके हरेक प्रदेशमा एक÷एकवटा नसके कम्तीमा पनि चार ठाउँमा हवाई एम्बुलेन्स राख्न जरुरी रहेको औँल्याए ।

उनलाई सहयोग गर्दै आएका पूर्वप्रदेश सांसद् नरोत्तम वैद्यले तत्काल कार्यविधि संशोधन गरेर हवाई उद्धार प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले यो सहमति कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिए ।