ढाका । बङ्गलादेशका विभिन्न सहरमा विद्यार्थीको प्रदर्शनको कारण बढ्दै गएको नागरिक अशान्तिलाई नियन्त्रण गर्न शनिबार सेनाले गस्ती सुरू गरेको छ ।
प्रहरी र अस्पतालले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तथ्याङ्कअनुसार यस हप्ताको हिंसामा कम्तीमा १२३ जनाको मृत्यु भएको छ र यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासनकालपछिको सरकारका लागि ठूलो चुनौती हो ।
सरकारले शनिबार मध्यरातदेखि लागू हुनेगरी निषेधाज्ञा आदेश जारी गरेको छ र प्रधानमन्त्री कार्यालयले सेना परिचालन गर्न सैनिक मुख्यालयलाई आग्रह गरेको छ ।
सशस्त्र बलका प्रवक्ता शाहदत हुसेनले एएफपीसँग भने, “कानुन र व्यवस्थाको स्थितिलाई नियन्त्रण गर्न देशव्यापीरूपमा सेना तैनाथ गरिएको छ ।”
निजी प्रसारणकर्ता च्यानल २४ का अनुसार स्थानीय समयअनुसार आइतबार बिहान १०ः०० बजेसम्म कर्फ्यु जारी रहनेछ । राजधानी ढाकाका सडकहरू शनिबार दिउँसो सुनसान थिए भने बख्तरबन्दसहितका सुरक्षा कर्मचारीले दुई करोड व्यक्ति बसोबास गर्ने विशाल सहर ढाकालाई गस्ती गरिरहेका देखिन्थ्यो ।
यसैबीच, शनिबार रामपुराको आवासीय इलाकामा हजारौं मानिसहरू सडकमा ओर्लिएपछि प्रहरीले भीडमाथि गोली चलायो र कम्तीमा एक जना घाइते भएका छन् । प्रदर्शनमा सहभागी ५२ वर्षीय नजरुल इस्लामले एएफपीसँग भने, “हाम्रो पिठ्युँ भित्तामा फर्किएको छ । देशमा अराजकता चलिरहेको छ । सुरक्षाकर्मीले मानिसहरूलाई चरालाई जस्तै गोली हानेका छन् ।”
अस्पतालहरूले एएफपीलाई बिहीबारदेखि गोली लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जानकारी दिएका छन् । प्रहरी प्रवक्ता फारुक हुसेनले एएफपीसँग कुरा गर्दै भने, “शुक्रबार राजधानीमा लाखौँ मानिस प्रहरीसँग भिडन्तमा उत्रिएका थिए ।”
उनले भने, “कम्तीमा दुई जना अधिकारीको कुटपिटबाट मृत्यु भएको छ । १५० जना प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गरिएको छ । अन्य १५० जनाको प्राथमिक उपचार गरिएको छ ।” प्रदर्शनकारीले कैयौँ प्रहरी बुथ र सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन् ।
ढाका मेडिकल कलेज अस्पतालका कर्मचारीले दिएको जानकारीअनुसार शनिबार थप दुई जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने सघन उपचार कक्षमा भर्ना भएका चार सर्वसाधारणको मृत्यु भएको छ । बङ्गलादेशको कपडा निर्यातको प्रमुख केन्द्र ढाकाको बाहिरी क्षेत्रमा पर्ने औद्योगिक सहर सावरमा थप दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
एनाम मेडिकल कलेज अस्पतालका प्रवक्ता जाहिदुर रहमानले गोली लागेर घाइते भएका नौ जना उपचारका लागि उक्त अस्पतालमा आएको बताए । प्रदर्शनको आयोजना गर्ने मुख्य समूह भेदभावविरूद्ध विद्यार्थी (स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन) का प्रवक्ताले एएफपीलाई शुक्रबारदेखि आफ्ना दुई नेतालाई पक्राउ गरिएको बताएका छन् ।
प्रधानमन्त्री हसिनाले आइतबार कूटनीतिक भ्रमणका लागि विदेश जाने कार्यक्रम रहेको थियो तर देशमा देखिएको अशान्तिका कारण भ्रमण स्थगित भएको छ ।
उनका प्रेस सचिव नायमुल इस्लाम खानले भने, “प्रधानमन्त्री हसिनाले वर्तमान परिस्थितिका कारण आफ्नो स्पेन र ब्राजिल भ्रमण रद्द गर्नुभएको छ ।”
सन् १९७१ मा पाकिस्तानविरुद्ध भएको स्वतन्त्रता संग्रामका भूतपूर्व सैनिकका छोराछोरीसहित निजामती सेवाका आधाभन्दा बढी पद विशिष्ट समूहका लागि आरक्षित गर्ने कोटा प्रणाली अन्त्य गर्न यस महिना दैनिक प्रदर्शनको आह्वान गरिएको छ ।
आलोचकहरूका अनुसार यो योजनाले सन् २००९ देखि देशमा शासन गरिरहेकी र जनवरीमा लगातार चौथो पटक चुनाव जितेकी ७६ वर्षीया हसिनाप्रति वफादार परिवारलाई फाइदा पुर्याउँछ ।
हसिनाको सरकारमाथि अधिकारवादी समूहहरूले सत्तामाथि आफ्नो पकड बलियो बनाउन राज्यका संस्थाहरूको दुरुपयोग गरेको र विपक्षी कार्यकर्ताको गैरन्यायिक हत्यासहित असहमतिलाई निस्तेज पारेको आरोप लगाउँदै आएका छन् । प्रदर्शनकारीले मङ्गलबार पहिलो मृत्यु भएपछि हसिनालाई पदबाट हट्न माग गर्न थालेका छन् ।
“यो अब विद्यार्थीको अधिकारको कुरा मात्र होइन, आन्दोलनमा सबैको चासो बढेको छ”, रामपुरा प्रदर्शनस्थलमा पुगेका २४ वर्षीय व्यवसायी हसिबुल शेखले एएफपीसँग भने । उनले भने, “हामी अहिले सर्वसाधारणका रुपमा यहाँ छौं । सरकारको राजीनामा हाम्रो अहिलेको निर्विकल्प माग हो ।” एएफपी/रासस
प्रतिक्रिया