काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन् ।
नेपाल हर्बस् तथा हर्बल उत्पादक संघको १८औँ वार्षिक साधारण सभाको सोमबार उद्घाटन गर्दै मन्त्री भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरे । सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ ।
मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार एवं प्रवर्द्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको कानुन ल्याउने बताउँदै उद्योगमन्त्री भण्डारीले भने, “सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ ।”
पूर्वमन्त्री एवं हर्बल उत्पादक सङ्घका पूर्वअध्यक्ष पार्वत गुरूङले मुलुकको भौगोलिक अवस्था र प्राकृतिक स्रोतसाधनका हिसाबले जडीबुटीजन्य उद्योगबाट देश लाभान्वित हुनसक्ने यथार्थलाई दृष्टिगत गरी सोहीअनुसारको नियम कानुन बनाउनुपर्ने धारणा व्यक्त गरे ।
सङ्घका अध्यक्ष प्रेमराज तिवारीले हाल जडीबुटीजन्य उद्योगमा करिब एक हजारभन्दा बढी उद्योगी व्यवसायी आबद्ध भएको, १० लाख नेपालीले रोजगारी पाएको र रु १५ अर्ब लगानीसहित वार्षिक रु पाँच अर्बको कारोबार हुने गरेको जानकारी दिए ।
सो अवसरमा जडीबुटीजन्य व्यवसायीले लगानीमैत्री नीति, सीप विकास, जडीबुटीखेतीको बिस्तार, व्यापार मेला, प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला, अर्गानिक प्रमाणीकरण, बजारीकरण, अनुसन्धान, विद्युतीय कारोबार, कार्गा भाडादरलगायतका व्यवसायसँग जेलिएका विषयवस्तुको ध्यानाकर्षण गर्दै लगानीमैत्री वातावरणका लागि सरकारसँग अनुरोध गरेका थिए । नयाँ नेतृत्व चयन हुने सो साधारण सभामा संघका पूर्वअध्यक्षसहित उत्कृष्ट व्यवसायीलाई सम्मानित गरिएको थियो ।












प्रतिक्रिया