मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
राजनीति-समाज   

अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै पद छोड्छु : गृहमन्त्री लामिछाने

अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै पद छोड्छु : गृहमन्त्री लामिछाने


शेयर गर्नुहोस:

378
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उनले आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाएका हुन् ।

गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आवद्ध कुनै पनि दलका नेता, कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छूट नदिने तथा भनसुनको आधारमा अपराधमा संलग्न कसैलाई पनि नछाडिने बताए ।

Advertisement

‘कुनै पार्टीको नेता तथा स्वार्थ समूहलाई जोगाउने पक्षमा म कहिल्यै हुने छैन, म देश जोगाउने छु, जनतालाई जोगाउने छु, अनि मुलुकको अर्थतन्त्र जोगाउने छु, देशमा शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्नका लागि लागिपर्ने छु,’ उनले भने, ‘अपराध गर्ने जो कोही व्यक्तिलाई समाएर छोड्ने हो कि भन्ने प्रश्न पनि छ, तर समाएर कुनै प्रभावको आधारमा छाड्नुपरे बरु म नै पद छाड्ने छु, जो कोहीलाई छाड्ने छैन ।’

गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिने विषयमा आफू संवेदनशील रहेको स्पष्ट पारे । ‘मैले पहिलो कार्यकालमा पनि निर्मलालाई न्याय दिने छु भनेर प्रतिबद्धता जाहेर गरेको थिएँ, अहिले पनि त्यो विषय मेरो प्राथमिकतामा नै छ,’ उनले भने, ‘यो निकै संवेदनशील विषय हो, जसरी पनि मेरो प्रयास जारी रहने छ ।’

जनताले आशा गरे अनुरुप काम गरेरै देखाउने गृहमन्त्री लामिछानेले प्रतिबद्धता व्यक्त गरे । ‘आशा गरे अनुसार नै काम गर्न सकिन्छ भन्ने विश्वासका साथ म आएको छु, तपाईंहरुले मलाई खबरदारी गर्न सक्नुभयो भने म अझै आफूलाई सुधार गर्ने मौका पाउने छु’, उनले भने ।

बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रभाव र दबाबमा परेर अनुसन्धान नगरिने बताए । ‘हामी तथ्यमा अनुसन्धान गर्छौं, दबाब र प्रभावमा परेर होइन,’ उनले भने । यस्तै, गृहसचिव एकनारायण अर्यालले समाजमा सुशासन र शान्ति सुव्यवस्था कायम गर्न स्रोतसाधनको अभाव मुख्य चुनौती रहेको बताए ।

शेयर गर्नुहोस:

378
Shares