काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन् ।
ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताए ।
अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएको आरोप लगाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस् र निर्दोषलाई नफसुन भनेर आग्रह गरेको बताए ।
उनले अनुसन्धानलाई सहयोग गर्नका लागि पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको बताए । अध्यक्ष ओलीले नेपालीलाई राज्यविहीन बनाउने र विदेश पठाउने मानिस देशद्रोही भएको भन्दै यसप्रकरणमा यसअघि समातिएका व्यक्तिलाई किन छाडियो भनेर प्रश्न गरे ।
राज्यको अर्बौको ढुकुटी कुल्याउन भ्रष्टाचारका मुद्दा खोजी खोजी छानबिन गर्न ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।
“राज्यको ढुकुटी खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो । राज्यको ढुकुटी अर्बौंको सम्पत्ति कुम्लाउनेविरुद्ध अख्तियारले छानबिन गर्नुपर्ने छ,” उनले भने, “तर भ्रष्टाचारका मुद्दालाई अख्तियारमा त्यतिकै राखेको छ ।”
उनले सरकारले भूटानी शरणार्थी वर्गीकरण नगरेर अयन्त्रबाट आएको, भुटानबाट अपराध गरेर आएका भनेर चार बुँदे सहमति गरेपछि शरणार्थीलाई भुटान फर्काउन समस्या भएको बताए ।
उनले नेपाली भाषी भुटानी योजनाबद्ध ढङ्गले लखेटिएको र उनीहरुलाई भुटान फिर्ता पठाउन सम्भव नभएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा आफूले भुटानी शरणार्थीको समस्या तेस्रो मुलुक पठाएर समाधान गर्न सुझाव दिएको बताए । साथै आफू परराष्ट्रमन्त्री भएको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग शरणार्थी समस्या समाधान गर्न पनि आग्रह गरेको बताए ।
प्रतिक्रिया